Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री पौडेल


नया सडक

२०८१, साउन १६ बुधबार

  • 474
    Shares

  • सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री पौडेल

    पाटन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज यहाँ आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

     “विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य ग¥यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन् । यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो । 

    उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभभयो । “लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन । यसर्थ मानवअधिकारको रक्षा र सबल अवस्थाका निर्माणका लागि लोकतन्त्र अपरिहार्य छ । यसमा नेपाल सरकार प्रतिबद्ध छ”, उहाँको भनाइ थियो । 

    उपप्रधामन्त्री पौडेलले मानवअधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले मानवअधिकारको पक्षमा इन्सेकले गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 
    इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले आफूमाथि भएको अन्याय र न्यायका लागि लड्नु मानवअधिकार क्षेत्रको ठूलो आन्दोलन हो भन्नुभयो । उहाँले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । 

    राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारको रक्षाका लागि मानवअधिकारका विषयमा व्यापक सचेतता जगाउन आवश्यक छ भन्नुभयो । 

    इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताउनुभयो । इन्सेकले यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो । उहाँ सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत हुनुहुन्छ । पुरस्कार ग्रहणपश्चात मन्तव्य राख्नुहुँदै तामाङले निर्दोष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भएपनि न्याय मिल्ने आशा रहेको बताउनुभयो ।

    गतवर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि रु ५० हजार रहेको छ । ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुआत गरेको छ । जर्नल त्रैमासिक रूपमा प्रकाशन हुने इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराउनुभयो ।

    इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलङ्कामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाइ एअरको दुर्घटनामा परेर निधन भएको थियो । दुर्घटनामा काफ्लेसहित एक सय १४ जनाको निधन भएको थियो । मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत हुनुभएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस