Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 495
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १८  शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    बजेटमा विनियोजन कौशल नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनमा कुशलता नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

     

    प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत सुनिश्चितताबिनै बजेट विनियोजन भएको, प्रतिफल नहेरी जथाभावी बजेट हालिएको तथा बजेटको विनियोजनमा कुशलता नदेखिएको बताउनुभएको हो । 

    चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन गर्दा काम सुरु भइसकेका आयोजना चाँडो निर्माण सम्पन्न गर्ने, ठूला तथा गौरवका आयोजनालाई पर्याप्त स्रोत साधन उपलब्ध गराउने र चाँडो नतिजा दिने आयोजनालाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ ।

    वार्षिक लक्ष्य पूरा गर्न अहिलेदेखि काम थाल्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिनुभएको छ । 

     

    अर्थ मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्नका लागि आ(आफ्नो जिम्मेवारीअनुसार परिणाम निकाल्न निर्देशन दिनुभएको हो । 

    उहाँले राष्ट्रिय महत्व र गौरवका आयोजना, प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ बजेट कार्यान्वयन कार्ययोजना तयार परेको छ ।

    समता घरेलु लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । यस संस्थाको १४ लाख ८४ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो । यसले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात अब समता घरेलु लघुवित्तको नाममा सेयर सूचीकृत भएको हो । 

    समताले १ स् १ को सेयर स्वाप अनुपातमा मनकामनालाई प्राप्ति गरेको छ ।

    शेयर बजार आइतबार बन्द हुने

    काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार , अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त  सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा रहेको छ । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.२९ अंकले घटेर नेप्से सूचक २७५५.६२ विन्दुमा झरेको छ ।

    एनआईसी एशिया क्यापिटलको साधारण सभा भदौ ११ गते

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ११ गते गर्ने भएको छ । सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

     

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५२ दशलमव ५३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २४.८१ प्रतिशतले घट्यो

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८१ प्रतिशतले कम हो ।

    कम्पनीको खुद ब्याज आम्दानी भने १४.२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

    असारसम्म आइपुग्दा यसको इम्पेयमेन्ट चार्ज बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यही चार्ज बढ्दा नाफामा असर गरेको हो । हिमालयनको सञ्चालन नाफा पनि १७.२२ प्रतिशतले घटेर १ करोड ८ लाख रुपैयाँमा आएको छ । इम्पेयमेन्ट चार्ज बढ्नु अनि सञ्चालन नाफा घट्दा यसको ख्ुद नाफामा प्रत्यक्ष असर परेको हो ।

    निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी एनआइसी एसिया लघुवित्तको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

     

    यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज ९बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

    आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज बिहीबार अन्तिम दिन हो । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर साउन १३ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

     

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुबाट पेश गर्न सकिनेछ ।

    ‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

     

    निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताउनुभयो ।

    शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ, अहिलेसम्मकै उच्च

    काठमाडौं । सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनेको छ ।  सुनको प्रति  तोला मूल्य करिब डेढ लाख पुगेको हो ।यसअघि अहिलेसम्मको   साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो ।

     

    सो रेकर्ड शुक्रबार तोडियो ।  शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    विधिपूर्वक मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल

    काठमाडौँ ।प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीका भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन् । यसका साथै नेवार समुदायको बाहुल्यता रहेका सहर बजारमा पनि यो पर्व मनाइन्छ । 

     

    परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

    काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि

    काठमाडौ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमानचालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

     

    बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो । पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताउनुभयो ।

    फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा रु दुई करोड ६० लाख बराबरको क्षति भएको छ ।

     

    नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो ।

    शेयर कर्जा सीमा खारेजलगायतका मौद्रिक नीति कार्यान्वयनसम्बन्धी परिपत्र जारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि गरेको २० करोडको शेयरधितो कर्जाको सीमा खारेज गरेको मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ ।राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गरेको हो ।

     

    परिपत्रमा ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमामा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ ।तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु नहुने व्यवस्था गरेको छ,’ भनिएको छ

    थाई एयर एसियाले सातामा भैरहवाबाट चार र काठमाडौंबाट तीन उडान गर्ने

    काठमाडौं । अब थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने भएको छ । थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले उडान भर्ने अनुमति पाएको छ। 

     


    थाई एयर एसियाले नेपालमा कुल सात उडान अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौंबाट तीन उडान  र भैरहवाबाट चार उडान भर्ने भएको हो।

    स्मार्टफोनको प्रयोग ८० करोड भारतीयको गरिबी निवारणमा सहयोगी सिद्ध

    अमेरिका ।द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्न सक्षम भारतको प्रशंसा गर्नुभएको छ । 

     

    उहाँले कसरी भारतका ग्रामीण क्षेत्रका मानिसहरूले स्मार्टफोनको माध्यमबाट भुक्तानी गर्न र बिलहरू तिर्न सक्षम भएको उदाहरण दिँदै यसले उनीहरूको समय र पैसासमेतलाई वचत गरेको बताउनुभयो ।
     
    फ्रान्सिसले संयुक्त राष्ट्रको खाद्य र कृषि संगठन ९एफएओ०ले आयोजना गरेको ’वर्तमान र भावी पुस्ताका लागि शून्य भोकतिर प्रगतिको गति’ विषयक छलफल कार्यक्रममा बताउनुभयो, “द्रूत विकासका आधारमध्ये डिजिटलाइजेसन एक हो । उदाहरणका लागि, भारतलाई हेर्नुहोस् । भारतले गत ५–७ वर्षमा केवल स्मार्टफोनको प्रयोग गरेर ८० करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न सक्षम भएको छ ।”

    पशुपति कोटीहोम कथावाचक अनिरुद्धाचार्य महाराज सहभागी हुने

    ललितपुर । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्नुहुने भएको छ ।  
         मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्नुहुने भएको हो ।  
     
      कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति  महाराजले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नो मौजुदा मन्त्रिपरिषमा तीन जना राज्यमन्त्री थपे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा तीन जना थपेका छन् ।  उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

     

    अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    लेखा समितिमा बक्यौता महसुल नतिर्ने उद्योगीहरूको लाइन काट्नुको विकल्प नभएको कुलमान घिसिङको भनाइ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा  प्राधिकरणले पठाएको बिलमा चित्त नबुझे उद्योगीहरूलाई अदालतमा गएर चुनौती दिन सल्लाह दिएका छन् ।शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा निर्देशक घिसिङले अदालतले यसअघि दिएको आदेश, लेखा समितिले यसअघि दिएको निर्देशन र मन्त्रिपरिषद्को निर्देशनअनुसार नै प्राधिकरणले बिल काटेको भनी चित्त नबुझे अदालतबाट न्याय माग्न उद्योगीलाई सल्लाह दिएका हुन्।

     

    प्राधिकरणले पठाएको  बिलमा चित्त नबुझेका उद्योगीहरूले पुनरावलोकनको माग नगरेको बताउँदै घिसिङले प्राधिकरणले पठाएकोे बिल ठीक नभएको भन्न नमिल्ने बताए ।यो विवादको विषय केही उद्योगीहरूको मात्र रहेको बताउँदै घिसिङले कतिपयले बक्यौता भुक्तानी गरिरहेको बताए ।

    एकाउन्न किलो गाँजासहित तीनजना पक्राउ

    बागमती । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । 

     

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस