Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, साउन २० आइतबार

  • 321
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २०  आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    समाज लघुवित्तको खुद नाफा ३२.३४ प्रतिशतले घट्यो

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष (०७९/८०)को तुलनामा गत वर्षमा ३२ दशमलव ३४ प्रतिशत घटेको छ ।

     

    कम्पनीले अघिल्लो वर्ष रू। ७५ लाख ८२ हजार नाफा कमाएकोमा गत वर्ष रू. ५१ लाख ३० हजारमा सिमित भएको हो । गत वर्ष कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएको नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष कम्पनीले सम्भावित जोखिम बापत रू. १ करोड ७४ लाख छुट्याएकोमा गत वर्ष रू.३ करोड ३१ लाख छुट्याएको छ ।

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने , साधारण सभा भदौ ४ गते

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले प्रिमियम वा अंकित मूल्यमा आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

    एशियन लाइफ इन्स्योरेन्सको  २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्री गरिरहेको छ। इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।
    संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम कागजातहरु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, काठमाडौँमा प्राप्त हुने गरी निवेदन दिनु पर्नेछ।

    स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ४.५१ प्रतिशतले घट्यो

    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।खुद ब्याज आम्दानी घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
    सञ्चालन नाफा पनि ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । 

     

     असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिसेय नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ ।

    नेपाल फाइनान्सको खुदा नाफा १०.०१ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल फाइनान्सको खुद नाफा घटेको छ ।फाइनान्सको खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।

     

    यसको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज र सञ्चालन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा यस फाइनान्सको खुद नाफा प्रभावित भएको हो । 
    असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ । 

    आज भोटो जात्राको अवसरमा सार्वजनिक विदा ,सेयर कारोबार नहुने

    काठमाडौं ।  आज आइतबार साउन २० गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

     

    अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा र सिंगापुरे डलर एकको खरिद दर १०० रुपैयाँ ४२ पैसा र बिक्री दर १०० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

    पर्सा प्रहरीद्वारा राजस्व छलीको आशंकामा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामान पक्राउ

    काठमाडौं । राजस्व छलीको आशंकामा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामान पर्सा प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धानका लागि पठाएको छ ।

     

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी पर्साको कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको  राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो ।

    तोलामा रु दुई सयले घट्यो सुनको मूल्य ,  प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल  सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ । 

     


    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८५ रुपैयाँ कायम भएको छ ।

    मौसमले साथ नदिँदा तीन दिनदेखि रारामा हवाई उडान प्रभावित

    मुगु । मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । 

     

    मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । 

    शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज आज मौसममा केही सुधार भएपछि  उडानको तयारी भए पनि पुनःमौसममा खराबी आएपछि समिटले एअरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ ।

    नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित हुनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो ।

     

    व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गर्नुभएको थियो ।

    ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

     

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

    डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी सुनिश्चित नभएसम्म काटिएका लाइन जोड्न नहुने अडान लिने प्राधिकरणका सञ्चालकद्वय पदमुक्त

    काठमाडौं।  डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुल बक्यौता नतिर्ने उद्योगमा काटिएको विद्युत लाइन भुक्तानी सुनिश्चित भएसम्म जोड्न नहुने अडानमा रहेका नेपाल विद्युत प्राधिकरणका दुई सञ्चालक पदमुक्त भएका छन्।ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेका हुन्।  सरकारलाई असहयोग गरेको भनी साउन १५ गते तीन दिनको समय दिएर उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।उनीहरु दुवै जनाले साउन १८ गते स्पष्टीकरण बुझाएपनि मन्त्री खड्काले चित नबुझेको भनी त्यही दिन सञ्चालकबाट हटाउने निर्णय लिए ।

    नेपाल चामल तेल दाल उद्योग संघद्वारा प्रधानमन्त्री ओलीसँग भेट, खाद्य तथा खाद्यजन्य स्वदेशी उद्योगको संरक्षण गर्न माग

    काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।संघका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वदेशी खाद्य तथा खाद्यजन्य उद्योगहरूको संरक्षण र सम्बर्द्धन गर्न आग्रह गरेको हो ।चामल, तेल , दाल र मैदालगायतका उद्योगहरू नेपालका  प्रमुख खाद्य उद्योगहरू हुन् । यस्ता खाद्य र खाद्यजन्य उद्योगमा विभिन्न समस्या र चुनौती देखापरेको भन्दै संघका अध्यक्ष कुमुद दुगडले यस्ता उद्योगहरूको संरक्षण र सम्बर्द्धन गर्न प्रधामन्त्री ओलीसँग आग्रह गरे ।

     

    भेटमा उद्योग संघले नेपालमा खाद्यान्न व्यापार व्यवसायमा भोग्नुपरेको विभिन्न समस्याहरू राख्दै एक ज्ञापनपत्र समेत प्रधानमन्त्रीलाई बुझायो । ज्ञापन पत्रमा  भारतले धान निकासीमा २०% भन्सार महशुल, नेपालमा ५% कृषि सुधार शुल्क र २.५% अग्रिम आयकर गरी जम्मा २७.५% भन्सार महशुल लगाउँदा धान आयात अत्यन्तै महँगो हुन गएको उल्लेख छ ।

    नारायणगढ-बुटवल सडकः वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

    मध्यविन्दु (नवलपरासी)।  नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

    सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला

    काठमाडौँ।  स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

     

    प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस