Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 645
    Shares

  • ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने

     

    काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

    धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो । 

    डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् । सबस्टेसनमा १३२-३३ केभी, ३० एमभिए क्षमताका दुईथान पावर ट्रान्सफर्मर थान र १३२-११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ ।

    सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए ।

    यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ । ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिने छ । यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस