Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 291
    Shares

  • अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

    काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

    पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्यायलगायत क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सो क्रममा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पु¥याउन लागेकामा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले अध्यक्ष दाहालको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकामा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै तत्पर रहेको उल्लेख गर्नुभएको दाहालको सचिवालयले जनाएको छ । राजदूत रोबले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रूचि बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताउनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री दाहालको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफ्नो योगदान रहने छ भन्नुभयो ।(रासस) 

    प्रतिक्रिया दिनुहोस