Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

दशैँ अगावै बर्खाका कारण क्षतिग्रस्त सडक मर्मत गर्ने सरकारको योजना

दशैँ अगावै बर्खाका कारण क्षतिग्रस्त सडक मर्मत गर्ने सरकारको योजना

  • काठमाडौं। सरकारले बर्खाका कारण क्षतिग्रस्त  सडक दशैँ अगावै मर्मत गर्ने योजना बनाएको जनाएको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेको एक महिनामा हासिल गरिएका उपलब्धिबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो  खुलाइएको हो ।निर्माणाधीन बाहेकका प्रमुख राजमार्गहरूमा प्रथम चरणको पटके मर्मत कार्यमार्फत ६ हजार किमी सडक खाल्डाखुल्डी रहित बनाउने लक्ष्यअनुसार सबै सडक डिभिजन कार्यालयहरूबाट यसका लागि बोलपत्र आह्वान गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    बर्खायामभरि राष्ट्रिय राजमार्गहरूमा यातायात अवरोध हुन नदिन आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा २ घण्टाभित्र अवरोध हटाई सवारी संचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यसका लागि १३५ वटा उपकरणहरू विभिन्न सडक खण्डमा तैनाथ गरी राखिएको र १२९ वटा यान्त्रिक उपकरणहरू तत्काल परिचालन हुने गरी तम्तयार अवस्थामा  राखिएको मन्त्रालयले जनाएको छ।बर्दिबास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी ३ वटा रेलपुलमध्ये २ वटा रेलपुल (मराहा र बर्दिबास) सम्पन्न भएको विज्ञप्तिमा भनिएको छ।

    ‘अरनिको राजमार्गको धुलिखेल–खावा खण्डमा सडक निर्माण कार्य संचालन हुन नसकी सो सडकबाट दैनिक गुड्ने सयौँ सवारी साधन र तिनमा सवार यात्रुले सास्ती खेप्नु परेको गुनासो आएको सन्दर्भमा उक्त सडक खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र ३ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा जनाइएको छ।

    मन्त्रालय अन्तर्गतको सडक बोर्ड नेपालमा रिक्त रहेको तीन जना बोर्ड सदस्यको पद पूर्ति गरि बोर्डलाई पूर्णता दिइएको विषय उपलब्धि सूचीमा समावेश छ। मन्त्रालय मातहतका रुग्ण ठेक्काहरूको अध्ययन गरी १ महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको जनाइएको  छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij