Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 312
    Shares

  • दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौँ।  भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ । आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उहाँले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गर्नुभएको हो ।

    अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”

    भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गर्नुभयो । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ । नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदै हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस