Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 312
    Shares

  • भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री

    काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो ।

    मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो । भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।

    साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो । सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।(रासस)

    प्रतिक्रिया दिनुहोस