Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ १८ मंगलबार

  • 333
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १८ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
    कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने बताएको छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

    यो दशैँमा पुरानै सुकिला नोटले काम चलाउनु पर्ने, नयाँ नोट नपाइने

    काठमाडौँ । यो दशैँमा नयाँ नोट नपाइने भएको छ । नयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हो ।

     


    बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैँमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा, १३ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा आएको छ । आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    यस दिन १०६ कम्पनीको सेयर भाउ बढेको छ भने १३३ को घटेको छ । ५ वटाको मूल्य स्थिर देखिएको छ । त्यसमध्ये १२ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । ५ वटा उपसमूह बढेका छन् भने बाँकी समूहमा गिरावट देख्न सकिन्छन् । आज सबैभन्दा धेरै निर्जीवन बिमा समूह बढेको छ ।

    लेखासमितिको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी

    काठमाडौँ ।  सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपिओ)जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो । लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

     

         “लेखा समितिले धितोपत्र बोर्डलाई विसं २०८० पुस १२ गते रु ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ”, समिति सभापति चालिसेले आजको बैठकमा भन्नुभयो ।

    प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल

    काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।

     

       नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताउनु भएको हो ।

    समृद्धि फाइनान्सको १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएका हुन । इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

     

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुरमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ जारी गर्ने निर्णय गरेको छ। शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ ।

    नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

    काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत नगद लाभांश (कर सहित)दिने घोषणा गरेको हो ।

    प्रि ओपन सेसन : नेप्से सूचक  ११.१६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.१६ विन्दुले बढेको  छ । यससँगै सूचक २८३४.४२ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

     

    ७९ कम्पनीको २६ हजार १ सय ९८ कित्ता सेयर कारोबार भएको छ । ५९ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

    आज कुमारी इक्विटी र धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार भदौ १८ गते अन्तिम दिन हो । यी दुई फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ १९ गते बुक क्लोज गर्नेछन् । आजसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउँनेछन् । 

     

    कुमारी इक्विटी र कुमारी धनवृद्धि दुवै फन्डले आर्थिक वर्ष २०८०–८१ बाट ९.५० प्रतिशत नगद लाभांश (कर सहित)वितरण गर्दैछन् ।

    आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

    काठमाडौँ । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको  खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो । 

     

    हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ ।

    वैदेशिक रोजगारमा पठाउने भन्दै रु २२ लाख ५० लाख ठगी गर्ने पक्राउ

    काठमाडौँ । विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ । 

     

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

    आज सुन–चाँदीको भाउ कति छ  ?

    काठमाडौं । आज सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १७ सय ७५ रुपैयाँ कायम रहेको छ । 
    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६.७६ डलर र चाँदी प्रतिऔंस २८.४५ डलरमा कारोबार भइरहेको छ ।

    नेपाल निर्जीवन बीमा व्यवसायी संघद्वारा ‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’ भएको भनाई

    काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ ।

     

    निर्जीवन बीमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा उनीहरुमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौ, ।’

    प्रतिनिधिसभाको बैठकमा ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग

    काठमाडौँ।  प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताउनुभयो ।

     

    “चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भन्नुभयो, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराउनुभयो । “कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ्ु ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

    काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्तावलाई पारित गरी म्याद थपिएको हो । 

     

    प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका थिए ।  उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए । समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको उनले सदनलाई जानकारी गराए

    ‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ । 

     

    राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

    सार्वजनिक बिदाको दिन ओपीडी खोल्ने सरकारको निर्णयप्रति चिकित्सक संघको विरोध

    काठमाडौँ । नेपाल चिकित्सक संघले  सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।संघका महासचिव डा. सञ्जीव तिवारीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको र त्यो निर्णय तुरुन्तै फिर्ता लिन विज्ञप्ति जारी जनाएका हुन् ।

     

    सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको जनाउँदै डा. तिवारीले स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेकोमा  नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर भएको बताएका छन् ।

    मौलिक हक कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।

     

    राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट पार्नुभयो ।

    नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
    निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । 
    उहाँले भन्नुभयो, “दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधिन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    प्रहरीका पूर्व महानिरीक्षकहरूद्वारा मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कारबाही गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

    काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन ’पूर्व प्रहरी संगठन प्रमुख मञ्च’द्वारा  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङलाई कारबाही गर्न माग गरिएको छ ।‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूर्व महानिरीक्षकहरूले मन्त्री गुरुङलाई कारबाही गर्न माग गर्दै प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

     

    पूर्व महानिरीक्षकहरूले मंगलबार एक विज्ञप्ति जारी  मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।

    ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती

    काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । 

     

    सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताउनुभयो ।

    आजको मौसम : बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

     

    यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली छ। बाग्मती प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
    आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बाग्मती, गण्डकी र कर्णाली  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
    त्यसैगरी कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस