Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

‘भीरबाट खसेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद्मा राख्नुपर्छ’


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 432
    Shares

  • ‘भीरबाट खसेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद्मा राख्नुपर्छ’

    मान्म (कालीकोट)।  कालीकोटमा भीरबाट खसेर र माथिबाट खसेको ढुङ्गा लागेर धेरै मानवीय क्षतिका घटना हुने गरेका छन् । यसरी हुने क्षति बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले भन्दा बढी हुने गरेको छ । उच्च पहाड, भीरलगायत प्रतिकूल भौगोलिक अवस्था र यिनै भीरमा गाईवस्तुका लागि घास काट्न जानुपर्ने बाध्यताका कारण यहाँ मानवीय क्षति बढी हुने गरेको जानकारहरू बताउँछन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले यहाँ भीरबाट लडेर र माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु हुने धेरै रहेको बताउनुभयो ।

    “सरकारले विपद्को सूचीमा नराखे पनि कालीकोटको प्रमुख विपद् नै यही रहेछ”, उहाँले भन्नुभयो, “बाढीपहिरोभन्दा भीरबाट लडेर र ढुङ्गा खसेर मृत्यु हुनेको सङ्ख्या दोब्बर रहेको छ ।” यहाँ आर्थिक वर्ष २०७९÷८० मा १३ जनाले भीरबाट खसेर ज्यान गुमाएकामा छ पुरुष र सात महिला रहेका थिए । यसैगरी भीरबाट खसेको ढुङ्गा लागेर १२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष भीरबाट लडेर नौ जनाले ज्यान गुमाउँदा छ जनाको ढुङ्गाले लागेर मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा बाढीपहिरोबाट यी दुवै वर्षमा गरी १२ जनाले ज्यान गुमाएका प्रहरीको तथ्याङ्क छ । राहत तथा क्षतिपूर्तिका लागि पहिरोबाट ज्यान गुमाउनेको विवरण प्रहरीकहाँ जानकारी गराउने भए पनि भीरबाट खसेर र ढुङ्गाले लागेर ज्यान गुमाउने आधाभन्दा बढी घटनाबारे प्रहरीलाई जानकारी नै नदिइ गाउँमा नै दाहसंस्कार गर्ने चलन रहेको जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत (विक)ले बताउनुभयो ।

    “यस्ता घटना विपद्मा नसमेटिने र पोस्टमार्टम गर्न झन्झटिलो हुने ठानेर प्रहरीलाई खबर नै गर्दैनन्”, उहाँले भन्नुभयो, “भीरबाट लडेर, भवितव्यमा परेर ज्यान गुमाउनेको सङ्ख्या अझ धेरै हुनसक्छ ।” विपद्को घटनामा राख्न माग भीरबाट लड्ने र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद् मान्नुपर्ने जिल्लाका राजनैतिक दल, नागरिक समाज, विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थालगायतले माग गरेका छन् । उनीहरूले जिल्ला विपद् व्यवस्थापन समितिमा यस्तो माग गर्दै आएका छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बलप्रसाद सज्यालले भौगोलिक अवस्था, बाटोघाटो राम्रो नहुनु, भीरलगायत भिरालो जमिन भएकाले माथिबाट खसेको ढुङ्गा लागेर ज्यान गुमाउनुपरेकाले यस्ता घटनालाई विपद्मा राखेर राहत दिनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । “कालीकोटको कठिन भूगोलका कारण भीरबाट खसेका र ढुङ्गा लागेर ज्यान गुमाएकालाई विपद्बाट भएको मृत्युमा राखेर राहत दिँदा स्थानीयलाई न्याय हुन्छ”, उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिसँग हामीले निरत्नर यस्तो माग गरिरकेका छौँ तर सम्बोधन हुन सकेको छैन ।’ जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यसरी भएको क्षतिका घटनालाई विपद् नमानेकाले राहात र क्षतिपूर्ति दिन नसकिएको बताउनुभयो ।

    “कानुनमै सम्बोधनका लागि गृह मन्त्रालयमा अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “एक महिनाअघि गरिएको अनुरोधका विषयमा गृह मन्त्रालयमा सायद छलफल भइरहेको होला ।” सरकारले विपद्मा परी मृत्यु भएका परिवारलाई किरिया खर्चबापत रु २५ हजार र राहतस्वरूप रु दुई लाख दिने गरेको छ । कर्णाली प्रदेश सरकारबाट पनि प्रतिमृतक रु दुई लाख थप रकम दिने व्यवस्था गरेको छ तर भीरबाट लडेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद् नमानेकाले समस्या भएको रेडक्रस सोसाइटीका जिल्ला सभापतिसज्यालले बताउभयो । “यो घटनालाई विपद्को घटना मान्दा पीडित परिवारलाई केही राहत र आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा सहयोग पुग्थ्यो । त्यसका लागि हामीले पहल थालका छौँ, केही हुन्छ होला भन्ने आस छ”, उहाँले भन्नुभयो ।रासस)

    प्रतिक्रिया दिनुहोस