Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ग्रेनाइट /मार्बल उद्योगी / व्यवसायी र सरकारबीच मूल्यांकनमा टसल , ग्रेनाइट लोडेड सयौँ गाडी सीमामा रोकिए, तनावमा उद्योगी व्यवसायी


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 1.2k
    Shares

  • ग्रेनाइट /मार्बल उद्योगी / व्यवसायी र सरकारबीच मूल्यांकनमा टसल , ग्रेनाइट लोडेड सयौँ गाडी सीमामा रोकिए, तनावमा उद्योगी व्यवसायी

    काठमाडौँ । सरकार र ग्रेनाइट /मार्बल उद्योगी व्यवसायी बीच टसल भएको छ ।मुख्यतः कच्चा पदार्थको रूपमा भित्रँदै आएको ग्रेनाइटलाई सरकारले भन्सार मूल्यांकनमा फिनिस्ट ग्रेनाइट सरह मूल्यांकन लगाएपछि सरकार र ग्रेनाइट /मार्बल उद्योगी व्यवसायीबीच टसल भएको हो ।

    सरकारले भन्सार मूल्यांकनमा करौँतीद्वारा अलिअलि ताछिएको वा अरू किसिमले काटिएको भन्दा कच्चा किसिमले काटेको एक ढिक्का ढुंगा, (ग्रेनाइट)लाई कच्चा पदार्थको रूपमा लिएको छ । यस्तो एक ढिक्का कच्चा पदार्थको रूपमा आएको ग्रेनाइटलाई  भन्सारले १० प्रतिशत भन्सार मूल्यांकन र १३ प्रतिशतभ्याटमा छुटाउँदै आएको छ । विगतमा भन्सार कार्यालयहरूले अर्धतयारी ग्रेनाइट  र मार्बललाई समेत कच्चा पदार्थको रूपमा छुटाउँदै आएका थिए ।

    पछिल्लो समय ग्रेनाइट मार्बलका  उद्योगी व्यवसायीहरूले भन्सार दरबन्दी , अन्तशुल्क छल्नका लागि अर्धतयारी र तयारी वस्तुहरू कच्चा पदार्थको रूपमा आयात गर्ने गरेको पाइएको बताउँदै भन्सार विभागले कडाइका साथ चारपाटे काटिएका , मिलाएर केवल चिरान मात्र नभएका  वर्गाकार अर्ध तयारी ग्रेनाइट मार्बलहरूको मूल्यांकनमा कडाइ गरिएकोे जनाएको छ ।

    पछिल्लो समय उद्योगी व्यवसायीहरूले कच्चा पदार्थको रूपमा यसअघि आयात गर्दै आएका मार्बल ग्रेनाइटहरूको मूल्यांकनमा भन्सारले २० प्रतिशत भन्सार मूल्यांकन , २५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि  उद्योगी व्यवसायीहरूले कच्चा पदार्थको रूपमा आयात गरिएका सयौँ ग्रेनाइट लोडेड  ट्रकहरू सीमापारी रोकिएका छन् । केही व्यवसायीहरूले भन्सार यार्डमा आइसकेका गाडीहरू उद्योगी व्यवसायीहरूले घोषणा गरेको मूल्यांकनमा छाड्न नमानेपछि धरौटीमा समेत छुटाएका छन् ।

    मूल्यांकनमा टसल भएपछि ग्रेनाइट मार्बलका उद्योगी व्यापारीहरू एकताबद्ध भएर सरकारलाई १० प्रतिशत भन्सार मूल्यांकन र १३ प्रतिशत भ्याटमा मात्र ग्रेनाइट मार्बलको कच्चा पदार्थ छुट दिनुपर्ने लबिङमा छन् ।अहिले छिटफुट बाहेक ग्रेनाइट मार्बल  भन्सारबाट  छुटाउने काम ठप्प प्रायः भएको भन्सार कार्यालयहरूले नयाँ सडकलाई बताएका छन् ।

    भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीका अनुसार मूल्यांकनको विषयमा उद्योगी व्यवसायीले घोषणा गरेको मूल्य र भन्सारको कुरा नमिल्दा अहिले  भैरहवा भन्सारबाट ग्रेनाइट मार्बल आएको छैन् । स्मरणीय रहोस ग्रेनाइट मार्बल भैरहवा भन्सार कार्यालयबाट अत्यधिक आउने गरेको छ । सरकारले कच्चा ग्रेनाइट /मार्बलको र फिनिस्टग्रेनाइट /मार्बलको करमा ठुलो अन्तर राखेपछि ठुलो संख्यामा मार्बल ग्रेनाइट रिफाइनरी उद्योगहरू सञ्चालनमा थिए । र, केही सञ्चालनको तयारीमा छन् ।  

    सरकारले एकाएक अर्ध तयारी(कच्चा पदार्थ)ग्रेनाइट /मार्बलको भन्सार दरबन्दी बढाएपछि त्यस्ता उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले कच्चा पदार्थमा आएका ग्रेनाइट मार्बलहरूको एकाएक कर र भन्सार दरबन्दी बढाएपछि ग्रेनाइट मार्बल उद्योगी व्यवसायीहरू लगानी जोखिममा पर्ने भयले तनावमा छन् । यससम्बन्धमा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले आफू भरखर भरखर भन्सारमा आएकोले विषयवस्तु राम्रोसँग बुझिननसकेको नयाँ सडकसँगको कुराकानीमा बताए ।

     

    प्रतिक्रिया दिनुहोस