Logo

Nov 11 2024 | २०८१, कात्तिक २६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, भदौ २८ शुक्रबार

  • 363
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २८ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    एडिबीसँग अनुदान तथा सहुलियत ऋण सहायता प्राप्तिका लागि वार्ता गर्न टोली गठन

    काठमाडौँ । सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ । यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि सो बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
     
            बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष ‘रेजिलिएन्ट हाइ भ्यालु एग्रिकल्चरल प्रोगाम’ का लागि प्राप्त हुने करिब नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ¬ले जानकारी दिनुभयो ।

    अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ९ अर्ब ४५ करोड ऋण सहायता स्वीकार

    काठमाडौँ । सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट रिजिलेन्ज हाइ भ्याल्यु एग्रिकल्चरल प्रोग्रामका लागि प्राप्त हुने ५३.४ मिलियन यूएस डलर (करिब ९ अर्ब ४५ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 
    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ९ अर्ब ४५ करोड ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः उद्योगमन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभएको छ । क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्घाट्न गर्नुहुँदै उहाँले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो । 
    मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको पहिलो प्राथमिकता नीतिगत सुधार गरेर समस्याको पहिचान, समन्वय र सहकार्य गरी अहिलेको चनौतीलाई सम्भावनामा बदल्नुपर्नेछ ।” 

     

    उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

    कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश घोषणा गर्यो

    काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन

    जलेश्वर ।  महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन ।
     
     आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा रु दुई अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताउनुभयो ।
     
     विसं २०७८ देखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ १ गतेदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि मिललमा करोडौँ मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ । विद्युत् नहुँदा अहिलेसम्म उत्पादन सुरु हुन नसकेको निर्देशक भण्डारीले बताउनुभयो ।

    कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

    काठमाडौँ ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

     

    शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनुभयो ।

    उपप्रधानमन्त्री पौडेलले सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिनुभयो ।

    लगानी बोर्डको सीइओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीइओमा नियुक्त गरेको हो । बोर्डको सीइओका लागि आवेदन दिएकामध्ये ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए ।

    ओरियण्टल होटल्स्ले ५.२६ प्रतिशत लाभांश घोषणा , साधारण सभा असोज २० गते

    काठमाडौं । ओरियन्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै असोज २० गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।ओरियण्टल

     

    सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ ।

    ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा भएको छ । क्यापिटलको आज बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

    प्रभु महालक्ष्मी लाइफको करिब २२ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

     

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ८ लाख १ हजार ४७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआइसी एसिया बैंकको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९भदौ २८ गते० बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

    हाथवे इन्भेष्टमेन्ट नेपालको १०.५२६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार  बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ ।

     

    अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो ।

    निजी क्षेत्रबाट पूर्वाधार विकासमा लगानी गराउन वातावरण बनाउन आवश्यक , लगानीको वातावरण बनाउन सरकार पछि नपर्ने मन्त्रीको भनाइ

    काठमाडौँ । नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन कानुनी, सरकारी समन्वय र प्रचारप्रसारमा कमीकमजोरी भएको सरोकारवालाहरुले बताएका छन् नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजना गरिएको  ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’मा ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’ उपशीर्षकसहितको  तेस्रो सत्रमा सरकारी, निजी, एवं विदेशी विज्ञहरुले पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको सहभागिताका लागि वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
    सम्मेलनमा फिलिपिन्सका पूर्व अर्थमन्त्री डा.रोबटो ओकाम्पोले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागी उपयोगी हुन सक्ने अनुभव सुनाए । आफु सन् १९९० को दशकमा अर्थमन्त्री हुँदा त्यहाँ थोरै लगानीको सम्भावना पनि न्यून र लगानी गर्ने विश्वासको संकट भएको अवस्था रहेको स्मरण गर्दै उनले यस्तो बाटो अपनाउन सुझाए ।फिलिपिन्स सरकारले मात्रै लगानी गरी काम गर्न सक्ने अवस्थामा विभिन्न प्रतिष्ठान तथा निजी क्षेत्रसँग छलफल गरी कानुन बनाएर पीपीपी मोडल अगाडि बढाएको उनले बताए ।

    सुनको भाउ आज फेरि नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५६ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।

     


    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६८.८ र चाँदी प्रतिऔंस २९.९७ डलरमा कारोबार भइरहेको छ ।

    नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

    नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

     

    आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले भन्नुभयो, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस ।” 

    गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

    साउनमा डेढ अर्ब बढी रुपैयाँको बीमा सरेन्डर, १० हजार बढीले बीमा सरेन्डर गरे

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो महिना साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा त्याग (सरेण्डर) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् ।

     

    सबैभन्दा धेरै बीमा सरेण्डर गरेकाहरूले   लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) बीमितहरू छन् । एलआईसीका २ हजार ७१५ जना बीमितले साउन महिनामा  ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् ।

    यस्तै नेपाल बीमा प्राधिकरण अनुसार नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।एसियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।

    महाकाली नदीको जलसतह उच्च , सतर्कता अपनाउन आग्रह

    कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । उहाँका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।  “भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।” प्रहरी निरीक्षक थापाले भन्नुभयो,“दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।” उहाँका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको  अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एक÷दुई परिवार विस्थापित भएका छन् ।

     

    त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    साढे अठ्ठाइस हजार मेगावाट उत्पादन गर्न चाहिने ४६ खर्बको लगानी ल्याउन वातावरण आवश्यक भएको विज्ञहरूको बुझाइ

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्ने अवसर नै अवसर भएको बताएका छन् ।अध्यक्ष कार्कीले दुई दिने ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट’ को दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको विषयमा छलफल गर्दै   ऊर्जा क्षेत्रमा आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्ममा लगानीका लागि  अवसर नै अवसर भएको बताएका हुन् ।

     

    २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताउँदै उनले यसैअनुसार यससँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने बताए ।यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर रहेको अध्यक्ष कार्कीले बताए ।तर यसका लागि नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु अत्यावश्यक रहेको उनले सुझाउ दिए ।

    वीर अस्पतालमा फेरि सुरु भयो जलन उपचार सेवा , मन्त्री पौडेलद्वारा जलन उपचार केन्द्रको उद्घाटन

    काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई फेरि सेवा दिन थालेको छ ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुक्रबार वीर अस्पतालमा जलन उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।मन्त्री पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने व्यवस्था गर्ने विश्वास दिलाए ।हाल सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन ।

     

     २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार जलन उपचार केन्द्रमा १० जनरल बेड, ५ आईसीयू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।

    अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्ने गरी केन्द्रको फेरि शुरुवात गरिएको छ ।नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौँ नै रेफर गर्ने चलन छ ।

    बुधबार जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको परिक्रमा यात्रा गरिने

    भक्तपुर । आगामी   बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा   ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट  पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो ।

     

    मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्बद्ध सबै पक्षलाई आव्हान गर्नुभएको छ ।

     

    तीन सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्राका निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थिमिदेखि पशुपतिसम्मका यात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीलगायत सहभागी जानकारी आफूलाई प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

     

     

    प्रतिक्रिया दिनुहोस