Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

चाडवाड बढेसँगै सबै भन्सार कार्यालयबाट आयात बढ्यो

चाडवाड बढेसँगै सबै भन्सार कार्यालयबाट आयात बढ्यो

  • काठमाडौँ । व्यवसायीहरूले  दशैँमा वर्षभरिको कमाइ गर्न बिक्री हुने मालवस्तुको नयाँ  खेप ल्याइरहँदा  भन्सार जाँचनाकामा भीडभाड अघि पछि भन्दा बढेर गएको छ ।दशैँ बजारमा आफ्ना खुद्रा व्यापारीहरूको नयाँ माग पूरा गर्न थोक व्यापारीहरूले सामान आयात बढाएकाले भन्सार जाँचनाकामा भीडभाड बढेको अधिकारीहरूले बताएका हुन् ।

    कपडा व्यापारीहरूका अनुसार यो वर्ष गत वर्षको तुलनामा १० प्रतिशतसम्मको मूल्य वृद्धि हुने छ ।साधारण साडीमा यो वर्ष सय रूपैयाँसम्म बढेकाले १० प्रतिशतसम्मको मूल्य वृद्धि हुने उनीहरूको मोटामोटी आकलन रहेको छ ।खिचापोखरीका एक थोक व्यापारीका अनुसार दशैँको एकसाता अघिसम्म थोक सामानको अर्डर आउने गर्छ । घटनास्थापना पछिको सातामा यो माग उच्च हुनाले अर्डर पूरा गर्न आफूहरूलाई भ्याइनभ्याइ हुन्छ । कतिपय अर्डर पूरा गर्न नसक्ने भएर स्वीकार नै नगरिने अवस्था पनि आउने गरेको उनले बताए ।

    भारत र चीन दुवैतर्फका भन्सार नाकाबाट आयात गति तीव्र भएकाले भीडभाड बढेको पाइएको छ ।रसुवा भन्सार कार्यालयमा भदौ १५ यता दैनिक ५० भन्दा बढी ट्रक, कन्टेनर जाँचपास गरेर नेपाल भित्रिने गरेको देखिएको एक स्थानीयले बताएका छन् ।ती स्थानीयका अनुसार यसअघि दैनिक १२ देखि १५ वटा ट्रक तथा कन्टेनर भित्रिने गरेका थिए ।

    चीनबाट विशेषरी विद्युतीय सामग्री, लत्ताकपडा, घरायसी सामग्री र फलफूल आयात हुने गरेको छ । चीनबाट विद्युतीय गाडी पनि आयात भइआएको छ ।गत साउन महिनामा मात्रै चीनबाट नेपालले २४ अर्ब ५४ करोडको सामान आयात गरेको छ ।  यो अवधिमा नेपालबाट १५ करोड ७६ लाखको सामान चिनियाँ बजारमा पुगेको छ भने सोही अवधिमा भारतबाट ७७ अर्ब ६८ करोडको सामान आयात भएको छ । नेपालबाट सो अवधिमा  ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सामान निर्यात भएको छ । 

    भारतसँग जोडिएको महत्वपूर्ण मानिएका भैरहवा, विराटनगर, वीरगन्ज, नेपालगन्ज लगायत ठुला भन्सार नाकामा पनि सवारी साधनको चाप बढेको छ । साउन महिनामा भैरहवाबाट २० अर्ब ६८ करोड, वीरगन्जबाट ४१ अर्ब ५१ करोड र नेपालगन्जबाट ५ अर्ब ५९ करोड रुपैयाँको सामान आयात भएको थियो ।  चीनसँग जोडिएको तातोपानी नाकबाट ४ अर्ब ३ करोड र रसुवा नाकाबाट ४ अर्ब ६४ करोडको सामान आयात भयो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij