काठमाडौँ । बाढी/पहिरोले बाटो बगाएर बन्द भएका उत्तरतर्फका नाका खुलेका छन् । तातोपानी र रसुवागढीको भन्सार नाकाबाट मालवस्तु भित्रिएका हुन् ।भन्सार विभागका अनुसार तातोपानी नाकाबाट आइतबार र रसुवागढी नाकाबाट मंगलबार मात्र सामान भित्रिएको विभागका अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ११ असोजदेखि रसुवागढी–केरुङ सडक बन्द थियो । नेपालतर्फको बाटो अस्थायीरूपमा बनेपनि चीनतर्फको बाटो सञ्चालनमा आउन नसकेकोले ढिलाइ भएको थियो । कार्यालयका अनुसार मंगलबारदेखि अधिकतम १३ टनसम्मका साना तथा ठूला गाडीहरूको आवतजावत गर्न मिल्ने गरी सडक सुचारु भयो ।कार्यालयका अनुसार स्याफ्रुबेसी–टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा एकतर्फी रूपमा सडक सुचारु थियो । सडक सञ्चालनमा आएपनि नाका सुचारु भएको थिएन् ।
तातोपानीतर्फ भने सडकको विभिन्न स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । तातोपानी भन्सार कार्यालयका अधिकारीहरूका अनुसार शनिबारदेखि तातोपानी नाका अस्थायी रूपमा सुचारु भएको थियो ।दुई–तीन स्थानमा डाइभर्सन र कतै पहिरोको बीचमै अस्थायी सडक बनाएर नाका सुचारु भएको छ ।यो नाकाबाट निरन्तर आयात–निर्यात सुचारु राख्न भने स्थायी समाधानमा जानु पर्ने आवश्यकता रहेको स्थानीयहरूले बताएका छन् ।तातोपानी नाका सुचारु भएसँगै क्रमशः चीनबाट चाडपर्वलक्षित गरी भित्र्याइएका सामान आइरहेको छ ।
तातोपानी नाका बन्द हुँदा मात्र राज्यले दैनिक ८ करोड रुपैयाँभन्दा बढीको राजस्व गुमाएको भन्सार अधिकारीहरूको भनाइ छ ।बाँकी रहेको अवधिमा यसबीचको क्षति कम गर्ने प्रयास कार्यालयले गर्ने समेत उनको भनाइ छ । फलफूल, मसला, लत्ताकपडाजस्ता वस्तु चीनबाट अहिले नेपाल भित्रिएका छन् ।तातोपानीमा सडक बन्द रहेको समयमा पनि व्यापारीले तुइन लगाएर, भरिया राखेर सामान भित्र्याएका थिए । जसले गर्दा धेरै सामान बिग्रिनबाट जोगाएर व्यापारीहरूको घाटा कम गर्न प्रयास गरिएको थियो ।
बाढीले भोटेकोसीको बेलिब्रिज र तातोपानी नजिकै लिपिङ खोलाको पुल बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने सडक अवरुद्ध बनेको हो । रसुवागढीतर्फ भने चीनतर्फको सीमा नजिकै सडक बगेको थियो ।उत्तरतर्फका नाका बन्द हुँदा चाडबाडको मुखमा आयात समेत उल्लेख्य बढ्न नसकेको देखिएको छ । चालु आवको पहिलो तीन महिना (साउन–असोज) मा रसुवागढी नाकाबाट १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । नेपालबाट ३९ करोड ३३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
तातोपानी नाकाबाट तीन महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । निर्यात भएको देखिँदैन । यी नाकाबाट चाडबाडमा बढी सामान आउने गर्छ । बाढी–पहिरोले भारततर्फको व्यापार भने प्रभावित बनेको थिएन ।नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरूका अनुसार रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएबाट व्यापारीहरूमा खुशियाली छाएको छ। उनीहरूले बिग्रेको बाटोको स्थायी समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।अध्यक्ष रामहरि कार्कीले बाटोको स्थायी समाधानका लागि तिहारपछि पहल थालिने बताए ।