काठमाडौँ । पछिल्लो समय चाइनाबाट नेपालमा ठूलो परिमाणमा लसुन आयात गरिएको छ ।चाइनाबाट आयात गरिएको लसुन नेपाललाई ट्रान्जिट बनाएर ठूलो परिमाणमा लसुन अवैध तरिकाले भारत निर्यात गरिँदै छ ।चाइनाबाट ठूलो परिमाणमा लसुन आयात भएतापनि नेपालमा लसुनको भाउ आकाशिएको छ । नेपालको तुलनामा भारतमा लसुनको मूल्य औसत २ सय ५० रुपैया बढी छ ।नेपालबाट अवैध तरिकाले ठूलो परिमाणमा लसुन भारत जान थालेपछि भारतीय मिडियाहरूले समेत प्रश्न उठाएका छन् ।पछिल्लो समय चीनबाट ठूलो परिमाणमा लसुन आयात भइइरहेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२को पहिलो तीन महिना भित्र गत आव २०८०/८१ भरि भएको कुल चीनबाट आयात भएको लसुन भन्दा बढी रहेको छ ।कार्तिक महिनाको तथ्याक सार्वजनिक नगरेपनि लसुनको आयात अत्यधिक भएको भन्सार विभाग स्रोतले जनाएको छ ।चालु आवको तीन महिनामा कुल लसुन आयात १ करोड ७४ लाख ७८ हजार ९ सय २० किलो भएको भन्सार विभागको प्रतिवेदनले जनाएको हो ।
भन्सार विभागले सो परिमाणमा आयात गरिएको कुल लसुनको आयात मूल्य २ अर्ब ३१ करोड ४० लाख ३ हजार रुपैयाँ तोकिएको जनाएको छ । सो मूल्य अनुसार विभागले आयात राजस्व ५९ करोड ८५ लाख ४२ हजार प्राप्त भएको जनाएको छ ।विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजमा ५९ लाख ९८ हजार ३ सय ७० किलो लसुन चीनबाट आयात गरिएको छ । यसैगरी भदौमा ७७ लाख ३६ हजार २ सय ५० किलो लसुन चीनबाट आयात भयो । साउनमा चीनबाट ३७ लाख ४४ हजार ३ सय किलो लसुन चीनबाट आयात भई चालु आवको पहिलो तीन महिनामा १ करोड ७४ लाख ७८ हजार ९ सय २० किलो लसुन आयात भएको विभागले जनाएको छ ।आयात भएको कुल परिमाणले आयात राजस्वसमेत जोडेर कुल रकममा भाग दिएर भन्सारबाट बाहिरिँदा प्रतिकिलो चिनियाँ लसुनको मूल्य १६६ रुपैया ८० पैसा हाराहारी पर्न आएको देखिन्छ ।
यसैगरी गत आवमा आयात गरिएको लसुन मूल्य भन्सारबाट बाहिरिँदा प्रतिकिलो मूल्य १६४ रुपैया ३५ पैसा हाराहारीमा रहेको देखिन्छ ।गत आवमा कूल लसुन १ करोड ७० लाख २६ हजार ८ सय २५ किलो आयात हुँदा आयात मूल्य २ अर्ब २२ करोड ३९ लाख १३ हजार तोकिएको थियो भने ५ करोड ७४ लाख ५ हजार आयात राजस्व संकलन गरिएको विभागले जनाएको छ ।
गत आवमा आयात गरिएको परिमाण भन्दा बढी चालु आवको तीन महिनामा मात्र आयात भएको हो ।भारतमा लसुनको प्रतिकिलो अधिकतम मूल्य भारु ३ सय २८ रुपैयाँ भारु र न्यूनतम मूल्य २ सय २३ रुपैयाँ भारु रहेको किसान डिल डटकमले जनाएको छ । नेपालको सीमावर्ती प्रान्त उत्तर प्रदेशमा १ सय ४० रुपैया ३६ पैसा भारु भन्दा बढी रहेको किसान डिल डटकमले जनाएको छ ।
उत्तर प्रदेशको यो न्यूनतम मूल्यको नेपाली रूपैया २२४ रुपैयाँ ५७ पैसा हुने देखिएको छ । अधिकतम मूल्य ५२५ रुपैयाँ ७६ पैसा हुने देखिएको छ । किसान डिल डटकमको यो मूल्य खुद्रा बजारमा फरक फरक रहने गरेको जनाइएको छ । नेपालमा लसुन सुकेको चिनियाँको औसत प्रतिकिलो मूल्य ३ सय २० रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।