काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ खर्बका लागि निक्षेप उपकरणमा आवेदन माग्दा दुई खर्ब बढी परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आवेदन दिएका हुन् । राष्ट्र बैंकले जनाए अनुसार २५ वित्तीय संस्थाले ६६ वटा बोलपत्र मार्फत् सो निक्षेप राख्न आवेदन दिएका छन् ।
बुधबार संकलित निक्षेपका लागि २.९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन् । न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा भने २.८६७१ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ । यसअघि एक खर्बको बोलकबोल माग गर्दा जम्मा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो ।