भैरहवा । चोरी तस्करी गरेर चिनी भण्डारण गरेको गोदाममा राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले छापा हानेको छ ।विशेष सूचनाको आधारमा झण्डै ७ सय बोरा चिनी भण्डारण गरेको भन्ने भएपछि राजस्व अनुसन्धान कार्यालय बुटवल र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रूपमा छापा मारेको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा दुईवटा गोदाममा झण्डै ७ सय बोरा चिनी भण्डारण गरेर राखेको भनी सूचनाको आधारमा छापामारी एउटा गोदामबाट ११२ बोरा चिनी बरामद गरेको र अर्को भण्डारण गरिएको भनिएको गोदाम खाली पाइएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले नयाँ सडकलाई बताए ।घिमिरेका अनुसार ७ सय बोरा भन्दा बढी चिनी दुईवटा गोदाममा भण्डारण गरी राखेको सूचनाका आधारमा राजस्व र सशस्त्रको टोलीले छापा हानेको तर एउटा गोदाम खाली भएको पाइएको हो । उनका अनुसार अर्को गोदामबाट ११२ बोरा चिनी नियन्त्रणमा लिई राजस्व कार्यालय ल्याउने क्रममा तस्करका सहयोगीहरू र केही स्थानीय बासिन्दाद्वारा विहीबार साँझ आक्रमणको प्रयास गरिएको थियो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार तस्करहरूको समूहले बरामद चिनी लुट्ने योजना अन्तर्गत ढुंगामुढा गरिएको हुन सक्ने बताइएको छ ।यो समाचार तयार पार्दासम्म वास्तविक चिनीको मालिक को पहिचान हुन सकेको छैन् । राजस्व अनुसन्धान कार्यालय बुटवलले तस्करको पहिचानका लागि अनुसन्धान गरिरहेको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।अवैध चिनी बरामद गरेर फर्किने क्रममा विहीबार बेलुका करिब ६ बजे एक सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेको थियो ।