Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

राजस्व चुहावट नियन्त्रण गर्न आक्रामक बन्दै सरकार, जो कोहीलाई कारबाही गर्ने गरी राजस्व अनुसन्धान विभागले अभियान सञ्चालन गर्ने

राजस्व चुहावट नियन्त्रण गर्न आक्रामक बन्दै सरकार, जो कोहीलाई कारबाही गर्ने गरी राजस्व अनुसन्धान विभागले अभियान सञ्चालन गर्ने

  • काठमाडौँ ।  सरकारले राजस्व चुहावट नियन्त्रण गर्न आक्रामक नीति अपनाउन लागेको छ । जो कोहीलाई कारबाही गर्ने गरी राजस्व अनुसन्धान विभागले अभियान सञ्चालन गर्ने र मातहतका कर्मचारी परिचालन गर्ने हालै सम्पन्न बैठकबाट निर्णय लिइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थमन्त्रालयमा प्रतिवेदन गर्ने दुई बेग्ला बेग्लै अनुगमन टोली पनि बनाइएको छ ।

    भएको छलफलबाट गरिएको निर्णय अनुसार  राजस्व चुहावटलाई नियन्त्रण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा राजश्व हेर्ने सम्बन्धित महाशाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षकहरु समेत सदस्य रहने गरी दुई बेग्लाबेग्लै अनुगमन टोली गठन गर्ने निर्णय भएको छ ।  यी टोलीले राजस्व चुहावटको जोखिम भएका क्षेत्र र स्थान पहिचान गरी निगरानी बढाउने, अनुगमन गर्ने र नियन्त्रणका लागि आवश्यक कदम चाल्नुका  साथै यस कार्यको नियमित रुपमा क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा प्रतिवेदन गर्न भनिएको छ ।

    अर्थ मन्त्रालयले नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी राजस्व प्रशासन एवम् सुरक्षा निकायका कर्मचारीहरु रहने गरी राजस्व चुहावट निगरानी केन्द्रको स्थापना गर्ने निर्णय गरिएको छ । यस केन्द्रमा एक टोल फ्रि नम्बर रहने व्यवस्था तत्काल मिलाई त्यसमा आउने राजस्व चुहावटका सूचनाहरुको आधारमा तत्काल कार्बाही अघि बढाउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भनिएको छ ।

    राजस्व चुहावट नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीयस्तरको राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।  यस समिति मार्फत् राजस्व  चुहावटको जोखिम रहेको क्षेत्रमा गस्ती परिचालन गर्ने, उच्च निगरानी बढाउने र नियमित अनुगमन गर्ने कार्यलाई तीव्रता दिई राजस्व चुहावट नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

    राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा खटिने कर्मचारीहरुले राजस्व चुहावट नियन्त्रणको कार्यमा उनीहरुले गरेको योगदानलाई कार्य सम्पादन मूल्याङ्कनको प्रमुख आधार बनाउने निर्णय पनि गरिएको छ ।व्यवसायिक कारोबारमा न्यूनबिजकीकरण हुनगई राजस्व चुहावट भएको गुनासो आइरहेको सन्दर्भमा यसलाई निरुत्साहित गर्न आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा राजस्व अनुसन्धान विभागले आ–आफ्नो कार्यक्षेत्रमा विशेष अभियान चलाउने र यस कार्यमा संलग्न रहने जो कोहीलाई तत्काल कानूनी कार्बाही गर्ने, गराउने निर्णय गरिएको मुख्य सचिवले जनाएका छन् ।

    निजी क्षेत्रका छाता संगठनहरुले राजस्व चुहावट नियन्त्रणको विषयलाई आ–आफ्नो छाता संगठनमा उच्च प्राथमिकता दिई छलफल एवम् अन्तक्र्रिया  सञ्चालन गर्ने तथा सबै सदस्यहरुलाई यस विषयमा सजग गराउने गरी कार्यभार तोकिएको छ ।राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित निकायहरु आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा  राजस्व अनुसन्धान विभागले नियमित रुपमा समन्वयात्मक बैठक गर्ने र यी बैठकबाट आपसी सूचनाको आदान प्रदान तथा आपसी छलफल गरी राजस्व चुहावटलाई नियन्त्रण गर्न तत्काल थप कदम चाल्ने निर्णय समेत भएको छ ।राजस्व  चुहावट नियन्त्रणसँग सम्बन्धित सबै निकायहरुले आ–आफ्नो जोखिम प्रोफाइल तयार गरी त्यसको आधारमा चुहावट नियन्त्रणको रणनीति बनाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय शुक्रबार गरिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij