Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 222
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २८ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएसनबीच मर्जर सम्झौता

    काठमाडौँ ।  स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् ।  यहाँ आज आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

     

    दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताउनुभयो । 

     

    “विसं २०७९ मा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै नयाँ र पुरानाबीच व्यवसायीबीच ध्रुवीकरण देखिएको थियो, त्यसलाई आजको समझदारीसँगै समाप्त पारेको छ”, ढकालले भन्नुभयो, “यसले पक्कै पनि हाम्रो पुँजीबजार र धितोपत्र व्यवसायीलाई नयाँ दिशानिर्देश गर्ने र यस अवसरले हामीलाई हाम्रो व्यावसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने हामीले विश्वास लिएक छौँ ।”

    हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

    काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आज अर्थात कार्तिक २८ गते बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँ (आइ.टि प्लाजा) मा सम्पन्न भएको छ ।

     

    सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।

    समता घरेलु लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने

    काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ शुक्रवार अर्थात् कात्तिक २९ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रवार बिहान ९ बजे क्यापिटलकै कार्यालय नारायणचौरमा बाँडफाँट हुने भएको हो ।
    सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६० दशलमव ७८ गुणा बढी आवेदन हो । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको खाली हुने भएको छ ।

    १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार प्राधिकरण अघि बढ्छ :  कार्यकारी निर्देशक  घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताउनुभएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । 

     

    “मन्त्रिपरिषद्को निर्देशनअनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रियाअनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसबीचमा बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत सबैले सहयोग गर्नुपर्छ ।” 

     

    प्राधिकणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरुले त्यसको सदुपयोग नगरेको जानकारी दिँदै उहाँले अबको १५ दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्रै नभई जनसरोकारको विषय बन्ने स्पष्ट पार्नुभयो । “लाइन काट्ने, पुनः जोड्ने तर बक्यौता नउठ्ने विषय अब रहन हुँदैन, बक्यौतासम्बन्धी समस्या समाधानको चरणमा पुगेको अवस्थामा प्राधिकरणले सरकारको निर्देशन मानेको हो”, उहाँले भन्नुभयो ।

    सगरमाथा जलविद्युतको खुद नाफा २८.६६ प्रतिशतले घट्यो

    काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा जलविद्युत कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २८.६६ प्रतिशत थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।

     

    विद्युत् बिक्रीबाट हुने आम्दानी १९.१३ प्रतिशतले घटेर ८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी पनि २५.६२ प्रतिशतले घटेर ७ करोड ८६ लाख रुपैयाँमा आएको छ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा २.५१ प्रतिशतले बढ्यो , जीवन बीमा कोषमा ३६ अर्बभन्दा बढी

    काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले ११ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.५१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.०९ प्रतिशत बढेर ९४ करोड रुपैयाँ पुगेको छ । 

     खुद बिमा शुल्क आर्जन १०.०६ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १३.३७ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३६ अर्ब ४ करोड रुपैयाँ भन्दा धेरैको छ । \

    शेयर बजार : नेप्से परिसूचक बुधबार  १४.१२ बिन्दुले घटेर २७३४.८३ बिन्दुमा , कुल कारोबार  ७ अर्ब ९१ करोड बढी

    काठमाडौँ । आज बुधबार शेयर बजारको नेप्से परिसूचक १४.१२ बिन्दुले घटेर  २७३४.८३ कायम भएको छ ।१ करोड ५३ लाख ६२ हजार २ सय ६  कित्ता शेयरको  खरिद बिक्रीबाट कुल कारोबार ७ अर्ब ९१ करोड १९लाख ७६ हजार ४ सय ४९ रुपैया बढी  रहेको हो ।

     

    यसअघि हिजो मंगलबार नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा झरेको थियो ।  हिजो ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो  ।

    गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६४ प्रतिशत घट्यो

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६४ प्रतिशत कमि आएको छ ।

     

    गत आवमा कम्पनीले रू. २८ लाख ८१ हजार नाफा कमाएकोमा चालू आवमा रू.१० लाख ३४ हजारमा सिमित भएको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले  नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४१ लाख १५ हजार रहेकोमा चालू आवमा रू. १४ लाख ७८ हजारमा झरेको छ ।

    एशियन हाइड्रोपावरले पहिलो त्रैमाससम्म  ७६ लाख २८ हजारभन्दा बढी खुद नाफा

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ७६ लाख २८ हजार नाफा कमाएको छ ।

     

    गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. २ लाख ३३ हजार नोक्सानीमा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले र वित्तीय खर्च घटेकाले नाफामा गएको हो । गत आवमा कम्पनीको विद्युत विक्री बापतको आम्दानी रू. ४ करोड ७८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ३१ लाख पुगेको छ ।

    त्यस्तै कम्पनीको वित्तिय खर्च गत आवमा रू. ३ करोड १ लाख रहेकोमा चालू आवमा रू। २ करोड ६० लाखमा झरेको छ ।

    मल्टीपर्पस फाइनान्स लिमिटेडले कात्तिक २८ गतेदेखि ८ हजार ५४९ कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ८ हजार ५४९ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

    पहिलो त्रैमाससम्म अरुण काबेली पावरको खुद नाफा ८ करोड ३३ लाखभन्दा बढी

    काठमाडौं । अरुण काबेली पावर लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १५ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।

     

    अघिल्लो त्रैमाससम्म पनि कम्पनी ३१ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । बाढी पहिरोका कारण आयोजनामा क्षति पुग्दा गत वर्ष कम्पनीले यस अवधिमा विद्युत विक्री आम्दानी गरेको थिएन । यस वर्ष भने विद्युत विक्रीबाट कम्पनीले २१ कोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

    प्राइम कमर्सियल बैंकको साधारण सभा मंसिर १९ गते , ५ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई स्वीकृति प्रदान गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

    नागरिक लगानी कोषको खुद  नाफा १३.६२ प्रतिशतले बढ्यो

    काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो।
    आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेको छ। कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.६० प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ।

    एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

     

    उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ। कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

    अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई सुधार्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।   

     

    अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिति, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भए पनि आयात, निर्यात, उत्पादन, माग, पुँजीगत खर्च, लगानीलगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो ।

    पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

    झापा ।नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । 

     

    विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो ।

     

    गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।

    सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ कायम

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १९ सय ४० रुपैयाँ कायम भएको छ ।

     

    बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६०६.८३ र चाँदी प्रतिऔंस ३०.९३ डलरमा कारोबार भइरहेको छ ।

    इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा

    काठमाडौं, नेपाल । २६ गते २०८१- इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ "इन्ड्राइभ कम्फर्ट" फिचर सुविधा सुरु गरेको छ।

     

    यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ। कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ। नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।

    जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह

    बाकु ।राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ ।

     

    सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह  गर्नुभएको हो । 

    “जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ, यो कुरा राष्ट्रसंघमार्फत विकसित देशले बुझुन, “राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहाकार किरण पोखरेलले भन्नुभयो,  “ यो समस्याको सृजना नेपालजस्ता मुलुकले  नगरेको हुँदा यसको न्यूनिकरणका लागि उपपलब्ध स्रोत ऋणमा लिन नसकिने भएकाले  अनुदानमा उपलब्ध गराउन आग्रह गर्दछु, “बैठकमा राष्ट्रपति पौडेलले भन्नुभयो । सल्लाहकार  पोखरेलका अनुसार  राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई  परेको छ तर विकसित देशहरुलाई पनि  यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड दिनुभयो ।

    द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

    काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो ।

     

            समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”

    आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वका सरकारले अघि बढाएका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गर्नुभयो ।

     

    “जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।” सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको दाबी गर्दै उहाँले पार्टीले पूरा गर्न नसकेका काम सम्पन्न गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गर्नुभयो । कीर्तिपुर क्षेत्र इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ ।

    राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राख्नुभएको सम्बोधनको पूर्ण पाठ

    बाकु (अजरबैजान) ।  राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताउनुभएको छ । यही कात्तिक २६ गतेदेखि यहाँ सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९) अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा जलावायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले विशेष सत्रमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ यसप्रकार छः

    पर्सा प्रहरीद्वारा साढे ४८ लाख बढीको कपडासहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा साढे  ४८ लाख बढीको खुद्रा तथा कपडा लोड गरिएको ट्रकसमेत बुझाएको छ ।कार्तिक २७ गते राति करिब ११ बजेतिर वीरगञ्ज महानगरपालिका वडा न ८स्थित घन्टाघर चोकबाट ना ३ ख ७९१० नम्बरको मालवाहक ट्रकमा बिज बीजक भन्दा बढीको खुद्रा तथा कपडा लोड गरेको पाइएकोमा ट्रकसहितको मालवस्तु पर्सा प्रहरीले नियन्त्रणमा लिएर पथलैया कार्यालय बुझाएको प्रहरीले जनाएको हो ।

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

     

    उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा रु १० लाख जम्मा गराउने ठहर गरेको थियो । फैसलालगत्तै उनी फरार भएका थिए । 

     

    प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन् समाजसेवी श्रेष्ठले

    चितवन ।  पश्चिम चितवनको चनौली बजारमा रहेको मालपोत कार्यालय भाडाको घरमा सञ्चालित  छ । कार्यालय रहेको घरधनीले कार्यालयका लागि निः शुल्क तीन कठ्ठा जमिन प्रदान गर्ने इच्छा गरेपनि सो कार्य पूरा गर्न सकेका छैनन् । 

     


    भरतपुर महानगरपालिका वडा नं. २०, चनौलीका महेन्द्रराज श्रेष्ठले  २०७६ सालमा आफ्नै घरमा भाडामा बसेको कार्यालयलाई जग्गा निःशुल्क दिने घोषणा गर्नुभएको थियो । घोषणापछि उहाँले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै भूमिसुधार मन्त्रालयसम्म जग्गा लिइदिन आग्रह गर्नुभयो ।
     
    चनौली बजार नजिकैको उहाँको जमिन मालपोत कार्यालयलाई निःशुल्क दिन श्रेष्ठ लागि पर्नुभएको छ । उहाँले भन्नुभयो “भाडा तिरेर बसेको मालपोत र नापी कार्यालयलाई जमिन दिन्छु भन्दा पनि सकिन ।”

    राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप संकलन गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार ५० अर्बको निक्षेप संकलन गर्न लागेको छ ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५० अर्ब निक्षेप संकलनसम्बन्धी बोलकबोलका लागि कार्तिक २८ गते अपराह्न २ बजेसम्मको समय तोकी यस्तो आह्वन गरेको हो ।राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ यस बैंकले देहायबमोजिमका विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

     

    सो सूचनामा निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने  उल्लेख गरिएको छ ।निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र व्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने पनि जनाइएको छ ।

    आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ । हाल देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको जनाएको छ ।

     

    विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी  तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै

    तेह्रथुम।  तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो । तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो ।

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस