Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

बंगलादेशलाई बिजुली बेच्न शुरु ,४० मेगावाट बिजुली निर्यात

बंगलादेशलाई बिजुली बेच्न शुरु ,४० मेगावाट बिजुली निर्यात

  • काठमाडौँ । नेपालले भारतपछि बंगलादेशलाई पनि बिजुली  बेच्न शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बंगलादेशलाई शुक्रबार ४० मेगावाट बिजुली निर्यात गरेको हो ।प्राधिकरणले डेढ महिनाअघि भएको त्रिपक्षीय सम्झौता अनुसार ४० मेगावाट बिजुली बंगलादेश पठाउन शुरु गरिएको छ । ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयमा एक समारोहबीच भर्चुअलरुपमा विद्युत निर्यात शुभारम्भ गरे । समारोहमा मन्त्रालयका अधिकारीका साथै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र अन्य अधिकारी उपस्थित थिए।

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गरेको हो ।६ वर्षको गृहकार्यपछि गत असोज १७ गते नेपाल, बंगलादेश र भारतबीच ४० मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो। नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो।

    प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा भनिएको छ । यो वर्ष बंगलादेशलाई शुक्रबार एक दिनका लागि मात्र विद्युत निर्यात गरिएको हो। प्राधिकरणले सम्झौता अनुसार प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ ।प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट विद्युत निर्यात गरेको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुगेको प्राधिकरणले जनाएको छ ।

    बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ। त्यही मिटरका आधारमा प्राधिकरणले पैसा पाउनेछ।ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नेछ। प्राधिकरणका अनुसार ढल्केबरबाट मुजफ्फरपुरसम्म ३ प्रतिशत चुहावट हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij