काठमाडौँ । मदिरा पेय पदार्थको निर्यात वृद्धि दर विगत पाँच वर्षयता २ सय प्रतिशत भन्दा बढीसम्म भएको पाइएको छ ।मदजन्य पदार्थहरूमा बियर, रम, भोडका ह्विस्कीको निर्यात अवस्था राम्रो रहेको पाइएको छ । यसले आयातलाई प्रतिस्थापन गर्दै गएको वा आन्तरिक र बाह्य बजारमा आफ्नो स्थान ओगटि रहेको सरकारी तथ्यांकले देखाएको छ ।
नेपालबाट गत ५ आर्थिक वर्ष (आव)मा बियर निर्यात परिमाण र निर्यात मूल्यको आधारमा राम्रो तथा आकर्षक देखिएको भन्सार विभागको प्रतिवेदनले जनाएको छ ।गत ५ आवमा बियरको निर्यात परिणाम ३९ प्रतिशत वार्षिक औसत वृद्धि भएको छ भने मूल्यको आधारमा ३७.२ प्रतिशत औसत वृद्धि भएको सरकारले जनाएको छ । आव २०७५÷७६मा ५ करोड १६ लाख बराबर ६ लाख ८४ हजार ३ सय ८६ लिटर निर्यात गरिएको थियो भने आव २०७९÷८०मा १८ करोड २७ लाख बराबरको २५ लाख ६२ हजार १ सय ४३ लिटर बियार निर्यात गरिएको जनाइएको छ ।
त्यसैगरी रमको वार्षिक औसत निर्यात वृद्धि ८२ .४ प्रतिशत रहेको छ । भोडकाको निर्यात औसत वार्षिक वृद्धि २०४.७ प्रतिशत रहेको छ भने ह्विस्कीको निर्यात औसत वार्षिक वृद्धि ४४.२ प्रतिशत रहेको छ ।समष्टिगतरूपमा मदिरा निर्यातको वार्षिक औसत ४३ प्रतिशतले बढेर आव २०७९÷८०मा २८ करोड ७३ लाख बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा रहेको छ ।
नेपाल भित्र मदिरा खपतको अवस्था बारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९मा गरेको अध्ययन अनुसार कुल मदिार खपतको दुई तिहाई जतिको हिस्सा अर्थात ६६.३ प्रतिशत अनौपचारिक स्रोतबाट आपूर्ति भइरहेको छ । अनौपचारिकरूपमा हुने खपतको ५७.४ प्रतिशत रक्सी ऐला र जाँड ३६.७ प्रतिशत र ५.७ प्रतिशत अवैधरूपमा आयात गरिएको मदिराको हिस्सा रहेको छ । सरकारले मदिरासम्बन्धी प्रतिवेदन तयार पार्दाका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उक्त विवरणबाट अन्तशुल्क विभागका अधिकारीहरू अनौपचारिकरूपमा अध्ययनसँग सहमत रहेको पाइएको जनाइएको छ ।
नेपालमा सबै भन्दा बढी खपत हुने मदिरामा परम्परागतरूपमा तयार गरिएको रक्सी ५०.९ प्रतिशत र दोस्रो बढी जाँड २४.५ प्रतिशत रहेको छ । यसैगरी १६.८ प्रतिशत बियर, ५.३ प्रतिशत स्प्रिट, १.७ प्रतिशत वाइन, ०.८ प्रतिशत ऐला र तोङवाको हिस्सा रहेको जनाइएको छ ।अन्तशुल्क औसत वार्षिक वृद्धिका आधारमा लिकरको वृद्धि ७.३ प्रतिशत र बियरको वृद्धि १८.७ प्रतिशतको वृद्धि भएको देखिएको छ ।२०७४÷७५मा लिकरबाट अन्तशुल्क राजस्व २२ अर्ब ९६ करोड र बियरबाट १५ अर्ब ६२ करोड संकलन भएको थियो । २०७८÷७९मा लिकरबाट ३० अर्ब ४१ करोड अन्तशुल्क राजस्व संकलन भएको थियो भने बियरबाट ३१ अर्ब बराबरको राजस्व संकलन गरिएको थियो ।