
काठमाडौं । सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८४ नामको ऋणपत्र जारी गरेको छ । सरकारले ३ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो ।
विकास ऋणपत्र २०८४ को मंसिर १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने मंसिर १३ गते विहीबार निष्कासन हुने जनाइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । सो ऋणपत्रको २०८४ मंसिर १३ गते सावाँ भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij