Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन्।

     

    आइतबार कला परिषद्‍मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको स्पष्ट पारे। उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे।

    सिईडिबि होल्डिङ्सले हकप्रद शेयर निष्कासन गर्ने ,  धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सिईडिबि होल्डिङ्गस लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

     

    कम्पनीले १ः०.५४५ अनुपातमा ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद शेयर निष्कासन गर्न यही मंसिर २० गते सेबोनमा निवेदन दिएको हो । 

    विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा,७ अर्ब ४६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा  ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा आएको छ । आज ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

     

    यस दिन ३२१ सय कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिभर फल्स पावर परेका छन् ।

    शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा पुस १२ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ । 

     

    सभाले आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै सभाले बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव  पनि पारित गर्नेछ ।

    नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

    काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् ।

     


    इर्खुवा हाइड्रोले प्रति शेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

    यसपटक एनएमबि बैंकले लाभांश वितरण नगर्ने

    काठमाडौं ।  एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 
     बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

    आज एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

    ६० किलो चाँदीसहित एक जना प्रकाउ

    हेटौंडा ।प्रहरीले शनिबार विहान करिब सवा ११ बजे करिब ६० किलो अवैध चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

     

    अमलेखगञ्ज बारामा प्रबनानि टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटीबाट चाँदी बरामद गरेको हो ।

    एनपिएलः चितवनले सुदूरपश्चिमलाई हरायो

    काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

     

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो ।

    लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

    गण्डकी  । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

     

    म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो ।

    सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

    दमास्कस ।कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

     

    सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

    काठमाडौँ ।सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ ।

     

    आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ ।

     

    आइतबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३३ र चाँदी प्रतिऔंस ३०।९७ डलरमा कारोबार भइरहेको छ ।

    धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

    मलेखुु। चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।

     

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

    नेपाल राष्ट्र बैंक ७० अर्ब निक्षेप संकलन गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार ७० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।राष्ट्र बैंकले आइतबार एक सूचना सार्वजनिक गरी ७० अर्ब निक्षेप संकलनका लागि अनलाइन बिडिङको समय अपराह्न २ बजेको समय तोकेको हो ।

     

    २१ दिनका लागि संकलन गरिने यो निक्षेपको सावा ब्याजको भुक्तानी पुस  १४ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।निक्षेप संकलन उपकरणको बोलकबोलमा क ,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउने भएका छन् ।

    पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

    काठमाडौँ। प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो ।

    उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहनुभएका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो ।

    बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

    गलकोट (बागलुङ)। धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उहाँले सुन्तला खरिदबापत एकमुष्ट रु १२ लाख किसानलाई बुझाएको बताउनुभयो । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिनुभयो । “सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई–चार लाख कमाइन्छ”, तामाङले भन्नुभयो, “किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।” तामाङले एउटै बगैँचालाई रु तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताउनुभयो ।

    सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

    काठमाडौँ। कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो ।

     

    भारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij