
काठमाडौँ । दुई ठुला जलविद्युत आयोजना बनाउन नेपाल लगानीकर्ताहरूसँग प्रस्ताव माग गरिएको छ । विद्युत् उत्पादक कम्पनीले ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त आयोजना निर्माणका लागि स्वपुँजी जुटाउन नेपाली लगानीकर्ताहरूसँग वित्तीय लगानीका लागि आशयपत्र मागेको हो ।
यी आयोजनाहरूमध्ये किमाथांका अरुण अर्ध जलाशययुक्त आयोजना हो । यसको कुल लागत ९३ अर्ब ८० करोड रुपैयाँ हुनेछ । यसैगरी अर्को आयोजना मुगुकर्णाली जलाशययुक्त आयोजनाको कुल लागत ४ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यी दुई आयोजनाको लागत जोड्दा ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ बराबर हुन आउँछ । यो लागतमध्ये २५ प्रतिशत रकम स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत जुटाउन सक्ने कम्पनीले जनाएको छ । यो आधारमा दुई आयोजनाको स्वपुँजीका लागि मात्रै १ खर्ब ३८ अर्ब ४५ करोड रुपैयाँ बराबर जुटाउनुपर्ने आवश्यकता देखिन्छ ।
कम्पनीका अनुसार त्यो रकममध्ये ५१ प्रतिशत बराबर रकम लगानीका लागि प्रस्ताव पेश गर्नुपर्ने छ । यो ७० अर्ब ६१ करोड रुपैयाँ हुन आउँछ । यसमध्ये किमाथांका अरुणको लागि ११ अर्ब ९६ करोड रुपैयाँ र मुगु कर्णाली आयोजनाका लागि ५८ अर्ब ६५ करोड रुपैयाँ जुटाउने क्षमता राख्नुपर्ने छ । निर्माणको चरणमा लागत बढ्न गयो भने त्यही अनुपातमा पुँजी थप गर्न सक्ने क्षमता समेत लगानीकर्तामा हुनुपर्ने छ ।
प्रस्ताव आह्वान गर्नुअघि विद्युत् उत्पादक कम्पनीले मंसिर १४ गते आयोजना निर्माण तथा लगानी साझेदारसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । उक्त कार्यविधिले सार्वजनिक निजी साझेदारी ढाँचामा लगानी जुटाइ आयोजना विकास गर्न कम्पनीले प्रस्ताव आह्वान गर्ने विषय रहेको जनाएको छ । यसका लागि सुरुमा कम्तीमा १५ दिनको समय दिएर स्वदेशी लगानीकर्तालाई आह्वान गर्नुपर्ने र तोकिएको अवधिभित्र स्वदेशी लगानीकर्ताबाट प्रस्ताव नआएमा विदेशी लगानीकर्ता वा जोइन्ट भेञ्चरका लागि लगानी आह्वान गर्न सक्ने व्यवस्था कार्यविधिले तय गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij