काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २७ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचकमा ३२.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा,६ अर्ब १४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ३२.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा आएको छ ।आज ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आजजम्मा २ वटा समूहको सूचकमात्र बढेका छन् ।
यस दिन ३०४ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र जोशी हाइड्रोपावर परेका छन् ।
दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि आगामी पुस १८ गते सातौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा चितवनको होटल स्टारमा दिउँसो २ः३० बजे शुरु हुनेछ ।
फर्स्ट माइक्रोफाइनान्सको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले ७१ हजार ९१५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनीको नाममा रहेको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
साप्सु कालिका हाइड्रोपावरको साधारण सभा पुस १९ गते , आइपीओ जारी गर्ने
काठमाडौ ।साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
प्रभु बैंकको १ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३५ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उहाँले सम्हाल्नुभएको अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
राधी विद्युतले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
आजदेखि बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला
काठमाडौं । आज मंसिर २७ गते बिहीबारदेखि बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस कम्पनीले उक्त हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
प्रभु स्टील्स एन्ड हाईड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे ।
कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले ९८ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ ।
युनाइटेड अजोड इन्सुरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्सुरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला गरेको छ । यसमा फागुन माघ २ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १५९ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ
काठमाडौँ । प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुुभयो ।
प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनमा नेपालको सक्रियता उल्लेख गर्दै भन्नुुभयो, “नेपालले न्यूयर्क कन्भेन्सन र सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।
प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।
विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब बढी , वस्तु तथा सेवा आयात धान्न १५.१ महिना पुग्ने
काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब बढी पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चित थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ ।हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसद्मा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम क्षणसम्म’ लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दक्षिण कोरियाली नेतालाई डिसेम्बरको पहिलो सातामा भएको शैनिक कानुनको घोषणा गर्ने ‘नाटकीय राजनीतिक भूमिका’ का सम्बन्धमा अनुसन्धानको एक भागको रूपमा विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।
युनको यस कदमले सियोलका सहयोगीहरूलाई स्तब्ध पारेको थियो र दक्षिण कोरियालाई वर्षौंपछि गहिरो राजनीतिक उथलपुथलमा फ्याँकेको थियो ।
१० प्रतिशत नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिमा गरिएको मनोयन अनुमोदन गर्दै नबिलको साधारण सभा सम्पन्न
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४०आँै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।२०८१ साल मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज मंसिर २७ गते ४०औंँवार्षिक साधारण सभा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो ।कम्पनी ऐन, २०६३ को दफा ६७ तथा बैंकको नियमावलीको व्यवस्था अनुसार सम्पूर्ण शेयरधनीहरूलाई जानकारी तथा उपस्थितिको लागि सूचना प्रकाशित गरिएको थियो ।
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा बिहान १०ः०० बजेदेखि शुरु भएको साधारण सभामा प्रस्तुत गरिएका प्रस्तावहरूमा छलफल गरी पारित गरिएको जनाइएको छ । प्रस्तुत गरिएका प्रस्तावहरूमा सञ्चालक समितिको प्रतिवेदन २०८०÷८१ पारित गर्ने ,. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८०÷८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने , यस बैंकको सहायक कम्पनीहरु नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको आ.व. २०८०÷८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ आषाढ मसान्तमा कायम रहेको चूका पूँजीको १० प्रतिशतका दरले हुने रकम रु. २,७०,५६,९९,६७२.२३ (अक्षेरेपी दुई अर्ब सत्तरी करोड छपन्न लाख उनान्सय हजार छ सय बहतर रुपैयाँ र त्रियान्नब्बे पैसा मात्र) नगद लाभांश (कर सहित) वितरण स्वीकृत गर्ने , आ.व. २०८१÷८२ (२०२४÷२५) को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, साधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) को निर्वाचन गर्ने तथा सञ्चालक समितिले संस्थापक शेयरधनी आईएफआईसी बैंक पीएलसी, बंगलादेशको तर्फबाट मनोनित सइद मन्सुर मुस्तफालाई सञ्चालक नियुक्त गरेको निर्णय स्वीकृत गरी अनुमोदन गर्ने गरी गरिएको प्रस्ताव पारित भएको हो ।
तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान
दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ । उहाँले भन्नुभयो,“रु पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।” तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि रु एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा रु २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ । चालुतर्फ रु एक करोड ९१ लाख २८ हजार विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ ।
दक्षिण कोरियासँग गरिने व्यापार तथा लगानी प्रवर्द्धन कार्यढाँचा हस्ताक्षरको तयारी द्रुतगतिमा
काठमाडौँ । सरकारले दक्षिण कोरियासँग व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी कार्यढाँचामा हस्ताक्षर गर्ने तयारीलाई द्रुतगतिमा अगाडि बढाएको छ । अन्यथा केही नभए आउँदो सोमबार नेपाल र दक्षिण कोरियाबीच व्यापार तथा लगानी प्रवर्द्धनको कार्यढाँचामा हस्ताक्षर हुने भएको हो ।१६ डिसेम्बर २०२४मा लगानी सेमिनारको आयोजना गरिएको छ । त्यस सेमिनारमा नेपाल र दक्षिण कोरियाबीच व्यापार तथा लगानी प्रवर्द्धन कार्यढाँचामा हस्ताक्षर हुने तयारी भइरहेको छ ।
उद्योग वाणिज्य अपूर्ति मन्त्री दामोदर भण्डारीको भ्रमणका लागि नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले आवश्यक सहजीकरणका लागि आफू तयार रहेको एक भेटमा जनाएका थिए ।
आज कति हो त सुन-चाँदीको मूल्य ?
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय २५ रुपैयाँ कायम रहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ ।
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उहाँले सम्हाल्नुभएको अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिना वितिसकेको छ । यस अवधिमा अर्थतन्त्रका समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन के पहल गर्नुभयो रु
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हामी मुलुकको समग्र आर्थिक अवस्थाको बारेमा सुक्ष्म रुपमा जानकारी लिन, समस्या पहिचान गर्न र समाधान गर्नमा केन्द्रित भएका छौँ । परिणामतः अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापर्दै गएका छन् । निजी क्षेत्रको आत्मविश्वास बढेको छ र लगानीको वातावरण बन्दै गएको छ । मन्त्रलयमा बहाल भएलगत्तै हामीले सय दिने कार्ययोजना बनायौँ र तीमध्ये ९० प्रतिशत भन्दा बढी कार्यान्वनय गरेका छौँ ।
वीरगञ्जबाट डिजेल आयात घट्यो
वीरगञ्ज (पर्सा) । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ । आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ ।
पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ ।
काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस