काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरी साढे १४ अर्ब बढीको आम्दानी गरेको जनाएको छ ।प्राधिकरणले जनाए अनुसार १४ अर्ब ६५ करोड रुपैया आम्दानी मध्ये सबै भन्दा बढी पौने १३ अर्ब बढी एक्लै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।
प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो । यसैगरी दोस्रो ठुलो आम्दानी गर्ने विमानस्थल पोखरा हो ।
यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।
तेस्रो ठुलो कमाइ गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।
यस्तै ६ करोड देखि साढे ६ करोडसम्मको कमाइ गर्ने चार विमानस्थल रहेका छन् । तिनमा धनगढी विमानस्थल ६ करोड ५६ लाख, भरतपुर विमानस्थल ६ करोड ३९ लाख, लुक्ला विमानस्थल ६ करोड २३ लाख र जनकपुर विमानस्थल ः ६ करोड १२ लाख आम्दानी गरेको जनाइएको छ । शीर्ष दश मध्ये बाँकी दुईमा नेपालगञ्ज विमानस्थल १३ करोड ११ लाख र चन्द्रगढी विमानस्थल ८ करोड १७ लाख आम्दानी गरेका छन् ।
कम आम्दानी गर्ने विमानस्थलहरू पनि रहेका छन् । सबै भन्दा कम आम्दानी दिने लामीडाँडा रहेको छ । उसको आम्दानी एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र भएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij