काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ३ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको साधारण सभा माघ २८ गते , २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयोे । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उहाँले बताउनुभयो । दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । सोही दिन गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने जनाइएको छ । चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मङ्गलबार अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ ।
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।
प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९८.६६ अंकमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो , प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६९७ र चाँदी प्रतिऔंस ३०.६९ डलरमा कारोबार भइरहेको छ ।
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आजबाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ ।
वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार ८१४ रुपैयाँ ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको जनाएको छ । यस्तै, निगमले दुई न्यारोबडी जहाजको पुस महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी पुस २९ गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डद्वारा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाईलाई आईपीओ निष्काशन अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । सेबोनले बिहीबार क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।क्रेष्ट माइक्रोलाइफले गत भदौमा आवेदन दिएको थियो। सेबोनबाट अनुमति पाएसँगै कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ।इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ। ओम मेघाश्री फर्मास्युटिकल्सले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशनका लागि गत बैशाखमा आवेदन दिएको थियो। ओम मेगाश्री उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी हो। गत फागुनमा करिब सवा अर्ब रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले औषधि उत्पादन गर्दै आएको छ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। फर्मास्युटिकल्सको उत्पादन कारखाना चितवनको जुगेडीमा छ।नयाँ अध्यक्ष नियुक्त भएपछि सेबोनले यसअघि नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ ।
शेयर बजार :नेप्से परिसूचकमा ७.३३ बिन्दुको गिरावट, नेप्से परिसूचक २५८८.६२मा झर्दा कारोबार ५ अर्ब ९३ करोड बढी
काठमाडौँ । आज नेप्से परिसूचकमा ७.३३ बिन्दुले कमी आई नेप्से परिसूचक २५८८.६२ बिन्दुमा अडिएको छ । बिहीबार नेप्से परिसूचक घटेर २५८८.६२मा झर्दा कुल कारोबार करिब ६ अर्ब भएको हो ।
१ करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता शेयरको खरिद बिक्री भई बिहीबार कुल कारोबार ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६ सय ७४ रुपैयाँ ७४ पैसा बराबर भएको नेप्सेले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले पोखरा फाइनान्सलाई १५ दिनको भित्र सफाइका लागि अवसर दिने निर्णय गरेको हो। यस निर्णयसँगै, पोखरा फाइनान्सले १५ दिनभित्र आफ्नो वित्तीय स्थिति सुधार गर्नुपर्नेछ, जुन संस्थाको लागि ठूलो चुनौती बन्न सक्छ। पोखरा फाइनान्सको वित्तीय स्थिति गम्भीर बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशतमा रहेको थियो भने राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसलाई ४१.०७ प्रतिशतसम्म पुगेको देखाउँछ। यससँगै, पोखरा फाइनान्सको पुँजीकोष पनि ऋणात्मक स्थितिमा पुगेको छ, जुन ८.५७ प्रतिशतले घटेर झन्डै ७१ करोड ११ लाख रुपैयाँको ऋणात्मक भएको छ।
बजेट संशोधनसम्बन्धी अध्यादेश सदनबाट पारित होला कि पुनः मूसिको भवःको नियति बेहोर्ला ?
काठमाडौँ । प्रचण्ड सरकारको पालामा ल्याइएको बजेट संशोधनसम्बन्धी अध्यादेश कानुन स्वतः खारेज भएजस्तै मौजुदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हालै जारी गर्न लगाएको सोही प्रकृतिको अध्यादेशले पुनः मूसिको भवःको नियति बेहोर्ने चर्चा राजनीति वृतिमा चल्न थालेको छ ।
सरकारले अध्यादेशमार्फत् आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेपछि बजेटका लागि नयाँ क्यालेन्डर लागु हुने भएको छ । गत आर्थिक वर्षमा पनि प्रचण्ड नेतृत्वको सरकारले अध्यादेशबाटै बजेट क्यालेन्डर संशोधन गरेको थियो । सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसदबाट पारित नभएपछि स्वतः खारेज हुन पुगेको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ ।
बजेट क्यालेन्डर संशोधन गर्न सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको थियो । अध्यादेश जारीसँगै संसदमा विचाराधीन उक्त विधेयक स्वतः निष्क्रिय भयो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा विचाराधीन रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माण प्रक्रिया अलमलमा परेको थियो । अध्यादेश आएसँगै करिब दुई हप्ता धकेलिएको बजेट निर्माण प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको अर्थ मन्त्रालयले जनाएको छ ।
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द
बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भन्नुभयो, “आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढ्ेको हो ।”
“अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भन्नुभयो, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ”, “यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो”, उहाँले भन्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij