Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ ४ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू..

नयाँसडक बुलेटिन : यस्ता छन् माघ ४ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ४ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने

    काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताउनुभएको छ ।

     

    इप्पानाको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा उहाँले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । 

     

    ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

    काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

    काठमाडौँ । काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकामा सवारीसाधनको प्रदूषण जाँच सुरू गरिएको छ ।

     

    महानगरपालिकाले सवारीसाधनको अवस्था पहिचान गरी मर्मत गराउन आग्रह गरेको छ । महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको जनाएको छ ।

     

    महानगरले मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेको छ । उक्त प्रावधानअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

    शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

    काठमाडौँ ।  संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ ।

    उपराष्ट्रपतिसँग भारतका राजदूतको भेट

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले राससलाई बताउनुभयो ।

    ‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उहाँले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो । “अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ”, मन्त्री खड्काले भन्नुभयो । उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।

    मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताउनुभयो ।

    कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको  चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो ।

    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो । प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहनुभएको समिति गठन गरिएको छ ।

    कामना सेवा विकास बैंकको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।

    कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    भ्रष्टाचारबाट आर्जन गरेको २ अर्ब बराबरको सम्पति जफत गर्दै गृह मन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । ु५ जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट १ भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छु, उनले भने, ुहामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा ५ वटा समूह बनाएर खटाएका छौं ।ु महानिर्देशक पन्थीले सम्पति जफतसम्बन्धी विभिन्न अदालतबाट ३ हजार ५ सय फैसला भएको जानकारी दिए । 

    उनले २ अर्ब बराबरको सम्पति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा ५ पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

    नेपाल भारत वाणिज्य अधिकारीहरूको सहमतिले व्यापार व्यवसायमा सहजतालाई ल्याउने, नेपालले अझ विश्वास दिलाउन बाँकी

    काठमाडौँ । हालै नेपाल र भारतका वाणिज्य अधिकारीहरू बीच भएको सहमतिले व्यापार व्यवसाय विस्तारमा सहज हुने तर नेपालले अझ विश्वास दिलाउन बाँकी रहेको विज्ञहरूले बताएका छन् ।नेपाल र बंगलादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाडौँका उच्च वाणिज्य अधिकारीहरूबीच सहमति  बनेको हो ।

    उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बंगलादेशबीच हुने व्यापारिक आदानप्रदान निकै सहज बन्ने व्यापारीहरूको भनाइ पनि रहेको  छ ।दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा बंगलादेश पनि पर्छ।सामुद्रिक मार्गसम्म आफ्नो सीधा पहुँच नभएको नेपालका लागि कतिपय अवस्थामा बंगलादेशी  बन्दरगाह भारतीय बन्दरगाहको स्वाभाविक विकल्प बन्न सक्ने देखिन्छ ।गत साता काठमाडौँमा  व्यापार तथा पारवहनसम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति आईजीसीको दुई दिने बैठक भएको थियो।

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न,  व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

    काठमाडौं ।नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी  थिए ।
    मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताउनु भयो
    सो अवसरमा उहाँले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि ससहजीकरण गर्ने , भैरहवा र पोखरा विमानस्थलसंग भारतका शहर जोडने र नेपालका  जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती आवश्यक भएको बताउनु भयो ।  यस्तै उहाँले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गर्नु भएको थियो ।

    सुनको मूल्य प्रतितोला १३ रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ कायम

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १३ रुपैयाँले बढेर १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको छ ।शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ९० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५ डलरमा र चाँदी प्रतिऔंस ३०.७५ डलरमा कारोबार भइरहेको छ ।

    कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

    म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । 

     

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताउनुभयो ।

    पाँच महिनाको अवधिमा ४७ अर्ब ३४ करोड वैदेशिक अध्ययनमा खर्च

    काठमाडौँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो ।

    अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । 

    युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij