काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । यस्तो अग्राधिकार शेयर मूलतस् बैंक तथा वित्तीय संस्थाहरूले पूँजी उठाउन जारी गर्छन् । निश्चित लाभांश दिने प्रतिज्ञा गरेर यस्तो शेयर जारी गरिन्छ र भुक्तानी नगरेको लाभांश पछिल्ला वर्षहरूमा जोडिँदैन ।
अन्य खालको अग्राधिकार शेयर बैंक तथा वित्तीय संस्थाहरूले यसअघि पनि जारी गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले गत असारमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाको पूँजीकोष वृद्धि गर्न सहयोग गर्ने हेतुले यो व्यवस्था गरिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले हुन आउने ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न माघ ८ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij