Logo

Jan 24 2025 | २०८१, माघ ११गते

Jan 24 2025 | २०८१, माघ ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १० बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १० बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १० बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    कुमारी इक्वीटी फण्डको नाफा २ करोडभन्दा बढीले घट्यो

    काठमाडौं । कुमारी सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    उक्त वित्तीय विवरणअनुसार योजनाको नाफा मंसिर मसान्तसम्मको तुलनामा पुस मसान्तसम्ममा २ करोड २३ लाखभन्दा बढीले घटेको छ । मंसिर मसान्तसम्म ६ करोड ६३ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजना पुस मसान्तसम्म भने ४ करोड ४० लाख रुपैयाँभन्दा बढी मात्र नाफामा रहेको हो । 

    यो महिना जम्मा आम्दानी घटेको र खर्च बढेकाले योजनाको नाफा घट्न पुगेको हो । मंसिर मसान्तसम्म ७ करोड ४८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ८५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । पुस मसान्तसम्म भने योजनाको आम्दानी ५ करोड ४० लाख रुपैयाँभन्दा बढी भएको छ भने जम्मा खर्च १ करोड रुपैयाँभन्दा बढी भएको छ ।

    चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

     

    आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

    असनको गोदाममा आगलागी

    काठमाडौँ । काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि खबर पाएलगत्तै पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दले बताइन् ।आगो नियन्त्रणमा आउने क्रममा रहेको उनले बताइन् ।

    बैंकहरूमा तरलता फालाफाल तरपनि कर्जा नबढेकोमा चिन्ता

    काठमाडौँ । बैंकहरूमा तरलता फालाफाल रहेको भएपनि कर्जा नबढेकोमा चिन्ता व्यक्त गरिएको छ ।राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले अर्थतन्त्रबारे यस्तो बताएको हुन् ।  तरलता फालाफाल भएको बेला व्यवसायीहरुको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको  सीईओ खनालले बिहीबार बैंकको ६० औँ बताए ।

    उनका अनुसार बजारमा अझै पनि शिथिलता देखिन्छ। आर्थिक गतिविधि अपेक्षितरुपमा बढ्न सकेको छैन। जसले गर्दा पैसा बैंकमा थुप्रिरहेको छ । आर्थिक गतिविधि सुस्त हुँदा ऋण असुली प्रभावित भइ बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढिरहेको छ।चालु आर्थिक वर्ष दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा बढेर ४.४८ प्रतिशत पुगेकामा राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत छ। उनले यसो भनिरहँदा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतका व्यक्तिहरू रहेका थिए ।

    गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

    काठमाडौँ  । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गर्नुभयो ।

    पश्मिनाको बजार विस्तारका लागि सरकारले बाधा हटाउनुपर्ने माग

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पश्मिना उद्योग संघको  अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताए ।

    राष्ट्रिय व्यापार संघको २०औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ । राष्ट्रिय व्यापार संघको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिमलाल खरेलको अध्यक्षतामा राष्ट्रिय व्यापार संघको साधारण सम्पन्न भएको हो ।

    वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

    बैङ्कक । वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्।

    मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्। 

    आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।

    पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

    ओम मेगाश्री फर्मास्युटिकल्सको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो ।

    सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

    इलेक्ट्रो पावरले आईपीओ निष्कासन गर्ने, फागुन १ गते विशेष साधारण सभा

    काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन १ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

    विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

    छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको आयोजना अलपत्र हुँदा खानेपानी समस्या

    बरहथवा (सर्लाही), १० माघः छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोख्नुभयो । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उहाँको भनाइ छ । लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उहाँले पनि ट्युबेलको पानी प्रयोग बन्द गर्नुभयो । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । “बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ” लामाले भन्नुभयो, “पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि विजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नु पर्यो कि त माग्नुपर्छ ।” लामाजस्तै हरिवन नगरपालिका–५, निवासी प्रेमशीलाकुमारी साहको समस्या पनि फरक छैन् ।

    देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड

    कर्णाली  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको राजनीतिक अवस्था सहज नभएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताउनुभएको हो ।

    सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिनुभयो । आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उहाँको भनाइ छ ।

    भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

    नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।

    नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो ।

    ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन ।

    चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्दै

    काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

    कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

    काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

    काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन  । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।  

     

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ । 

     

    विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो “विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।” उहाँले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गर्नुभयो ।

    बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

    काठमाडौं ।  बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७५ रुपैयाँमा झरेको छ ।

    पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज (पर्सा) ।  चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ ।चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ । आव २०८०÷८१ को छ महिनामा रु ८८ अर्ब ७८ करोड बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व सङ्कलन गरेको थियो ।

    एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने , एनसीसीको निर्वाचन  मार्च १ देखि मार्च १५ सम्म

     

    काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशनका लागि पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले तयारीलाई तिव्रता दिएका छन् । सोहीअनुसार आइतबार सम्पन्न समितिको पाचौँ बैठकबाट कार्यविधि पारित भएको छ । कार्यविधि पारित भएसगै घलेले सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषद ९एनसीसी०हरुलाई सर्कुलर पठाउँदै आवश्यक निर्देशन दिइएको छ । 
    उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले पाँचौ बैठकको निर्णयअनुसार सबै एनसीसीहरुलाई कार्यविधि पठाइसकिएको जानकारी दिए । सर्कुलरमा संघ सन् २००३ मा स्थापित भई हालको अवस्थासम्म आइपुग्दा विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरण र नेपालको समृद्धिका लागि योगदान पुर्याउने उद्देश्यका साथ अगाडि बढिरहेको अवगत गराइएको छ । यस्तै संस्थामा पछिल्लो समय विकसित  घटनाक्रमले विवाद उत्पन्न भई एनआरएनए विवाद समाधान तथा दशौँ अन्तराष्ट्रिय महाधिवेशनबारे परेको मुद्दामा  गत चैत २१ गतेसर्वोच्च अदालतबाट परमादेश जारी भएको उल्लेख छ । उक्त आदेशमा बुँदा नम्बर ३९ मा उल्लेख गरिए बमोजिम संघको एकता र गरिमा कायम राख्नको लागि उच्चस्तरीय समितिको गठन र उक्त समितिको जिम्मेवारी समेत तोकेको अवस्थामा उच्चस्तरिय समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको उल्लेख गरिएको छ ।

    उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

    काठमाडौँ ।काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताउनुभयो । कारणबारे उहाँले भन्नुभयो, “लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।” उहाँले अब बढ्ने समय पनि हुन लागेको बताउनुभयो ।

    यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij