Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

विकास हाइड्रोपावरको आईपीओ निष्कासन सुरु, पहिलो चरणमा स्थानीय र वैदेशिक नेपाली लक्षित

विकास हाइड्रोपावरको आईपीओ निष्कासन सुरु, पहिलो चरणमा स्थानीय र वैदेशिक नेपाली लक्षित

  • काठमाडौं। विकास हाइड्रोपावर लिमिटेडले आज २०८२ साल जेठ ६ गतेदेखि आफ्नो पहिलो चरणको सेयर निष्कासन प्रक्रिया सुरु गरेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) अन्तर्गत यो चरण विशेष गरी आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गरिएको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले कुल ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये, गोरखा जिल्लाको धार्चे गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने बासिन्दाका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर छुट्याइएको छ। अति प्रभावित वडा नम्बर ४ र ५ का स्थानीयलाई ३ लाख ६३ हजार ६४० कित्ता र अन्य वडाहरू—वडा नम्बर १, २, ३, ६, र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर विनियोजन गरिएको छ।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्टै ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको छ। उनीहरूले विदेशबाट जेठ २० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यो अवधिपछि उनीहरूका लागि आवेदन दिन सकिने छैन।

    आयोजना प्रभावित स्थानीयबासीका लागि आवेदन खुला रहने अन्तिम म्याद भने दुई विकल्पमा तोकिएको छ— छिटोमा जेठ २० गतेसम्म र ढिलोमा असार ४ गतेसम्म। यस अवधिमा इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

    कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता सेयर छुट्याएको छ भने सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सेयर तोकिएको छ।

    बाँकी रहेका २९ लाख ४२ हजार ७६० कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिनेछ। यसमा सहभागी हुन चाहने कुनै पनि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।

    विकास हाइड्रोपावरले निर्माण गरेको माथिल्लो माछाखोला जलविद्युत आयोजना ४.५५ मेगावाट क्षमताको रहेको छ। यस आयोजनाको कुल लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। यस आईपीओको सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij