Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १३ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू....

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १३ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    नेसनल लघुवित्त र रु रु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आइतबार नेसनल लघुवित्त र रु रु जलविद्युतको बोनस सेयर सूचीकृत भएको छ । जसमा नेसनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर सूचीकृत भएको छ ।

    आइतबार रु रु जलविद्युतको पनि ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितराण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा,९ अर्ब १२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा आएको छ । आज ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ५ वटा समूहको सूचक सकारात्मक देखिएको छ । 

    यस दिन ३ सय १८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३९ करोड ५३ लाखभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानम क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

    राजस्व संकलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौं : अर्थमन्त्री पौडैल

    काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन्।

    भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व संकलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए।

    “अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौं। गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन। हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने।

    मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले सो मितिसम्म कायम रहेका शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी भएको यो हकप्रद खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।कम्पनीले सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गर्ने तयारी गरेको छ ।

    एनएलजी इन्सुरेन्सको माघ २० गतेबाट ३ लाख १७ हजार कित्ता सेयर लिलामी खुला गर्ने

    काठमाडौं । एनएलजी इन्सुरेन्सले माघ २० गतेदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । 

    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं ।  नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ । अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने जनाएको छ । हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

    रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

    काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।जिल्ला न्यायाधीश  प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो ।प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत

    काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए÷नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।

     

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ देशभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गर्नुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, “बालबालिकाको जन्मजात सुन्न नसक्ने अपाङ्गता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौँ ।”

    सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

    काठमाडौँ ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो ।

     

    एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन् । सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिनुभयो ।

    राजस्व अनुसन्धान विभागद्वारा सवा पाँच करोड बढीको साडी, कुर्ता सलवारलगायतका मालवस्तु लिलाम गरिँदै

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आज आइतबार सूचना जारी गरेको छ ।विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले जारी गरेको सूचना अनसार ती सामान एकमुष्ट लिलामी गरिने छ । सूचना अनुसार ती मालवस्तुको मूल्य ५ करोड ३६ लाख २ हजार ४ सय ६६ रुपैयाँ बराबर छ । यो मूल्य अभिवृद्धि कर (भ्याट) सहित हो ।

    कार्यालयका अनुसार यसरी लिलाम गरिने वस्तुमा सारी, स्वेटर, कुर्थासुरुवाल, टप्स, ज्याकेट, जुत्ता, चप्पल, टेम्पर ग्लास, इयरबड, मोबाइल कभर, जिन्स पाइन्ट, स्मार्ट वाच लगायत छन् ।जनाइए अनुसार १ सय ३८ थान सारी, १ सय ६० थान स्वेटर, २५ हजार ८ सय ७३ थान कुर्थासुरुवाल, ९ सय ३३ थान टप्स, २ सय ९ थान ज्याकेट, ६४ जोर जुत्ता, ८० जोर चप्पल, २ हजार २ सय ४२ थान टेम्पर ग्लास, २ हजार ३ सय ४० थान इयरबड, १ हजार ४ सय ७४ किलो मोबाइल कभर, १ सय ४ थान जिन्स पाइन्ट, २ हजार २ सय ९६ थान स्मार्ट वाच, १ हजार ९ सय ९० थान मोबाइल डिस्प्ले, नोकिया मोबाइल २ सय थान, १ हजार ५ सय थान कस्मेटिक, ३० थान सर्ट, ८ सय ७० मिटर ड्रेस मेटरियल र ६५ इन्चको एक थान टेलिभिजन सेट लिलाम गर्न लागिएको  हो ।

    हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो । मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उहाँले राख्नुभयो । उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिनुभयो ।

    जी.पी. शाह यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा अनुबन्धित

    काठमाडौँ नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि. ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा  जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

    राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै

    काठमाडौं ।राष्ट्र बैंकले माघ १३ गते आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएकाले पनि थप ४० अर्ब रकम खिच्न लागेको हो । अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ । 

    केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

    प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा माघ २० गतेसम्म आवेदन सकिनेछ ।

    आरम्भ चौतारी लघुवित्तको खुद नाफा १६१.४२ प्रतिशतले बढ्यो

    काठमाडौं ।आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । 

    यसको खुद ब्याज आम्दानी पनि २६।०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

    सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो , प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७७१ डलर र चाँदी प्रतिऔंस ३० डलरमा कारोबार भइरहेको छ ।

    वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो

    वीरगञ्ज (पर्सा) ।  वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताउनुभयो ।‘‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’’ उहाँले भन्नुभयो,‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’’ गत आवको छ महिनामा यो नाका हँुदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो ।

    भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउने दुई व्यक्तिमाथि अनुसन्धान,करिब २ अर्बको राजस्व हेरफेर गरेको आरोप

    काठमाडौंं।  भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ । 

    जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी  सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगर–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भीमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij