Logo

May 06 2025 | २०८२, वैशाख २४गते

May 06 2025 | २०८२, वैशाख २४गते

images

बिजुली बेच्ने बजार सुनिश्चित भएकोले लगानी गर्न मन्त्री खड्काको आह्वान

बिजुली बेच्ने बजार सुनिश्चित भएकोले लगानी गर्न मन्त्री खड्काको आह्वान

  • काठमाडौँ । उत्पादित विद्युतको बजार सुनिश्चित रहेको जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । रेमिट हाइड्रोले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युतको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

    उनका अनुसार सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार ५ सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्ने भनिएको छ । उत्पादित विद्युतको बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले  विश्वास दिलाए ।

    विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताउँदै मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएको बताए । अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने बताउँदै  उनले उत्पादित विद्युतको बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको विश्वास दिलाए ।

    जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत बिनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म शेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले  जनाए । विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने बताउँदै मन्त्री खड्काले सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र मारमा परेकोमा चिन्ता व्यक्त गरे । मन्त्री खड्काले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गरे । मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह पनि  गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij