Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

विदेशी नागरिकहरूद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी, आन्तरिक राजस्व कार्यालयद्वारा ताकेता

विदेशी नागरिकहरूद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी, आन्तरिक राजस्व कार्यालयद्वारा ताकेता

  • चितवन, १४ माघः भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै रू २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको रू १९ करोड ८८ लाख राजस्व बक्यौता रहेको छ । रू १० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ । कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो । पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो । चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले रू १९ लाख आयकर बुझाउन बाँकी रहेको छ । अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले रू १९ करोड ६९ लाख राजस्व बुझाउन बाँकी रहेको छ । जसमध्ये रू पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने रू १४ करोड ६ लाख राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिनुभयो । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ ।

    विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्दछन् । उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैङ्किङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । खड्काका अनुसार बक्यौता असुल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू अधिकांश कबाडी सङ्कलन गर्ने रहेका छन् । दशवटा कम्पनीमध्ये सबैभन्दा बढी नवदुर्गा ट्रेडर्सले रू १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ राजस्व बुझाउन बाँकी रहेको छ । भारतीय नागरिक विजली चौधरीका नाममा रहेको सो कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी रहेको हो । कार्यालयका कर अधिकृत खड्काका अनुसार भ्याटबाट रू चार करोड १५ लाख ५६ हजार दुई सय १६ र आयकरतर्फ रू १० करोड ५२ लाख ९९ हजार ९९ राजस्व बुझाउनुपर्ने हुन्छ ।

    उहाँका अनुसार नक्कली बीजक सम्बन्धमा कार्यालयले अनुसन्धान गरी सो रकम बराबरको राजस्व तिर्न बाँकी रहेको देखिएको हो । यस कम्पनीलाई आन्तरिक राजस्व विभागले विसं २०८१ वैशाख ३० गते कर निर्धारण गरेको थियो । जसमध्ये अहिलेसम्म रू दुई लाख मात्रै बुझाएको खड्काले जानकारी दिनुभयो । कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ मा ६८ जना करदातालाई नक्कली बीजकमा अनुसन्धान गरेको थियो । उनीहरूबाट रू एक अर्ब २१ करोडभन्दा बढी राजस्व उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij