
काठमाडौँ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १०औँदेखि २२औँसम्मको वार्षिक साधारण फागुन ५ गते बिहान ९ बजे काठमाडौंँमा डाकेको हो ।
नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो ।
एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षा अनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
समस्याग्रस्त घोषणापश्चात् कम्पनीले लगानी गरेका कर्जा असुलीमा कम्पनी र ऋणी तथा जमानीकर्ता पक्षबाट गठित कार्यदलबीच भएको दुई पक्षीय तथा वित्तीय संस्था ऋण चुक्ता कार्यदल र राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघबीच भएको त्रिपक्षीय (इस्को) सम्झौता अनुमोदन र सम्झौता कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ ।
यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ५ जनाको निर्वाचन गर्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेपश्चात् संचालक समितिको सदस्यहरूमा भएको हेरफेर, नयाँ संचालक समिति गठन र नयाँ गठित संचालक समितिको हैसियतबाट कम्पनीमा तत्कालीन समयमा भएका कार्यलाई अनुमोदन गर्नेछ ।
कम्पनीका अनुसार आर्थिक वर्ष (आव) २०६७÷६८, आव २०६८÷६९ र आव २०६९÷७० को एमबि श्रेष्ठ एण्ड कम्पनी, आव २०७०÷७१ को गोपाल श्रेष्ठ एण्ड कम्पनी, आव २०७१÷७२, आव २०७२÷७३ र आव २०७३÷७४ को आरएस एण्ड चार्टर्ड एकाउण्टेण्ट्स, आव २०७४÷७५, आव २०७५÷७६ र आव २०७६÷७७ को वाग्ले एण्ड एशोसिएटस, आव २०७७÷७८, आव २०७८÷७९ र आव २०७९÷८० को विशाल एण्ड एशोसिएट र आव २०८०÷८१ को रिजाल एण्ड एशोसिएटस् चार्टड एकाउन्टेन्टस वाह्य लेखा परीक्षकमा नियुक्त भएका थिए । उनीहरूको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०६७÷६८ देखि आव २०७९÷८० सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij