काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १४ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
सशस्त्र प्रहरी द्वारा वीरगञ्जमा ५० लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले आज वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
महुली लघुवित्तको ४ लाख ७५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ मंगलबारबाट किनबेच गर्न मिल्नेछ ।
संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । एफपीओको बाँडफाँड गत पुस १९ गते गरिएको थियो । लघुवित्तको एफपीओ ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
शेयर बजार: नेप्से परिसूचक १०.६६बिन्दुले झरेर २६३३.२७ बिन्दुमा , कारोबार करिब ९ अर्ब
काठमाडौँ । आज सोमबार नेप्से परिसूचक १०.६६ बिन्दुले झरेर २६३३.२७ बिन्दुमा अडिएको छ । कुल कारोबार रकम ८ अर्ब ९२ करोपड ४० लाख ६५ हजार ८सय ८८ रुपैया ६७ पैसा बराबर हुन १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
सामुदायिक लघुवित्तको साधारण सभा फागुन ६ गते , शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ६ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापकबाट चार जना र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।
ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
सङ्घीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयरको लाभांश ९ प्रतिशत निर्धारण गरेको छ ।
उक्त सेयर निष्कासन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त निष्कासन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंक तथा वितीय संस्थाहरु र रेमिट हाइड्रो लिबीच ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना लगानी गर्ने सम्झौता
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लिबीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेवा क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
घुन्सा खोला जलविद्युत आयोजनाले श्रावण ०८, २०७९ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै बैशाख २१, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत उत्पादन कम्पनी लि को संयुतm लगानी ५१ प्रतिशत हुनेछ ।
‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो । “यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ ।”
सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा नेपाल सूचीकृत हुने सम्भावना
काठमाडौँ ।सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत हुन सक्ने देखिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने सम्भावना रहेको जनाएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवसमा सोमबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उनका अनुसार सम्पत्ति शुद्धीकरण मामिला अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण देश (ग्रे लिस्ट) मा जाने अवस्था देखाएको छ ।
आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको छ ।एफएटीएफले सम्पत्ति शुद्धीकरण गैह्रकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यसाथ निर्धारण गरेका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएका आधारमा एपीजीले सम्पत्ति शुद्धीकरण कालोसूचीमा लैजाने गभर्नर अधिकारीले जनाए।
क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा बोलाउँदै
काठमाडौँ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १०औँदेखि २२औँसम्मको वार्षिक साधारण फागुन ५ गते बिहान ९ बजे काठमाडौंँमा डाकेको हो ।
नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो ।
एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षा अनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
पुनर्बीमा कम्पनीहरूका लागि चुक्ता पुँजी बढाउने म्याद थपियो
काठमाडौँ । पुनर्बीमा कम्पनीहरूका लागि चुक्ता पुँजी पु¥याउने म्याद थप गरिएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने म्याद थपिदिएको हो ।गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकबाट पुँजी वृद्धि गर्ने समय थप गरिएको प्राधिकरणका अध्यक्ष मदन दाहालले जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार पुँजी वृद्धि गर्ने समय सीमा सकिन लागेको र कम्पनीहरूले हालसम्म वृद्धि नगरेकाले एक वर्ष थप गरिएको हो ।२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पु¥याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिन लागेको छ । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न नसकेको हो ।
विदेशी नागरिकहरूद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी, आन्तरिक राजस्व कार्यालयद्वारा ताकेता
चितवन, १४ माघः भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै रू २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको रू १९ करोड ८८ लाख राजस्व बक्यौता रहेको छ । रू १० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ । कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो । पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो । चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले रू १९ लाख आयकर बुझाउन बाँकी रहेको छ । अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले रू १९ करोड ६९ लाख राजस्व बुझाउन बाँकी रहेको छ । जसमध्ये रू पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने रू १४ करोड ६ लाख राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिनुभयो । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ ।
सुनचाँदीको मूल्य घट्यो, तोलाको १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार
काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७५६ डलर र चाँदी प्रतिऔंस ३०.२७ डलरमा कारोबार भइरहेको छ ।
झापामा कृषि विकास फार्मको सरकारी जग्गामा २० वर्षदेखि अतिक्रमण, फिर्ता गर्न चुनौतीपूर्ण प्रयास
झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको जनाएको छ ।
फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर (८४ बिघा) जग्गा रहेको विसं २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ ।
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको माघ २१ गतेबाट ४ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला हुँदै
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ
अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ । साथै अन्य विदेशी मुद्राको भाउ स्थिर छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij