Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १५ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १५ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १५ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    बुधबार र बिहीबार सार्वजनिक विदा ,  बैंक तथा वित्तीय संस्था बन्द हुने

    काठमाडौं । बुधबार र बिहीबार सेयर बजार बन्द हुने भएको छ । बुधबार माघ १६ गते शहिद दिवस र बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।  सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

    सीवाइसी नेपाल लघुवित्तको ८८ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले आज देखि ८८ हजार १८३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम ८६४ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

    ठमाडौं । नेपाल धितोपत्र बोर्डबाट एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

    बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।
    कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

    एभरेष्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्।

    शेयर बजार : नेप्से परिसूचकमा २४.५० अंकले बढेर २६५७.७७  बिन्दुमा,९ अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २४.५० अंकले बढेर २६५७७७  बिन्दुमा आएको छ ।  आज ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । 

    यस दिन ३ सय २५ कम्पनीको १ करोड ९६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज कारोबार रकममा ३८ करोड २१ लाखभन्दा बढीसहित सप्तकोशी डेभलमेन्ट बैंक अग्रस्थानमा रहेको छ । 

    ग्रामीण विकास लघुवित्तको खुद नाफा ८.६० प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले १८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ८.६० प्रतिशतले धेरै हो ।

    यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफामा सुधार आएको हो । संस्थाले १ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । गत वर्ष उक्त चार्ज २१ करोड ७३ लाखले रिभर्स भएको थियो । खुद ब्याज आम्दानी २२.४१ प्रतिशतले बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

    यसको सञ्चालन नाफा भने १९।१० प्रतिशतले घटेको छ ।

    हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा: १४% बोनस सेयर र महत्वपूर्ण निर्णयहरूको प्रस्तुति

    काठमाडौं।  हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 


    यता, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने कम्पनीले जनाएको छ । प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।

    आजदेखि क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला

    काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आज (माघ १५ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

    न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

    स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताउनुभएको छ ।

     

    नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारणसभामा उहाँले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भन्नुभयो, “ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौं ।”

     

    नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताउनुभयो । उहाँले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने बताउनुभयो ।

    शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः मन्त्री खड्का

    काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन, २०२५’ मा उहाँले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो । “पूर्वाधार निर्माणका क्रममा सिर्जना हुने जोखिमलाई कसरी न्यून गर्न सकिन्छ भनेर गम्भीरताका साथ सोच्नुपर्ने बेला आएको छ, जोखिम अध्ययन गरेर त्यसको न्यूनीकरणका लागि आवश्यक कार्य गर्न जरुरी छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले दिगो विकासका लागि दातृ निकाय र विकास साझेदारको सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले केही समयअघि सरकारले सार्वजनिक गरेको १० वर्षे ऊर्जा विकास रणनीतिबारे चर्चा गर्दै भन्नुभयो, “बलियो सरकार भएका बेला बलिया र राम्रा काम गर्नुपर्ने बेला छ, अबको १० वर्षमा ऊर्जा क्षेत्रमा के–कस्ता काम गर्ने भनेर १० वर्षे रणनीति बनाई कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सम्भव छ, यसका लागि हामीले विभिन्न कानुन परिमार्जन गरेर समयानुकूल बनाएका छौँ, त्यस्तै आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपतलाई वार्षिक एक हजार पाँच सय युनिट पु¥याउने लक्ष्य राखेका छौँ ।”

    गृहमन्त्रीसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट

    काठमाडौँ  । गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    साथै उहाँहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गर्नुभएको थियो ।

    मार्चको पहिलो साता हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतलाई निम्तो

    काठमाडौँ । मार्चको पहिलो साता हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतबाट उच्च तहका पदाधिकारीको सहभागिताका लागि  निम्तो गरिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारत सरकार, विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीचको भेटमा नेपालको तर्फबाट उक्त शिखर सम्मेलनमा भाग लिन निम्तो दिइएको मन्त्रालयले जानकारी सार्वजनिक गरेको छ ।नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २–३ मार्चमा यो शिखर  सम्मेलन आयोजना हुने छ ।

    मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र व्यापारको आकार समेत बढेको उल्लेख गर्दै अपेक्षित निर्यात भने बढ्न नसकेको सोमबार भएको उक्त भेटमा जानकारी गराएका थिए ।यसलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि विद्यमान व्यापार सन्धि संशोधन गर्न दुवै देशका सहसचिव स्तरमा रहेको प्राविधिक समिति बैठक बसेर टुंगोमा पु¥याउनुपर्नेमा मन्त्री भण्डारीले भेटमा जोड दिएका थिए ।

    वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।

     

    सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

    संसदबाट फास्ट ट्रयाक अध्यादेश पारित गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको पनि बताए । 

    उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए ।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

    काठमाडौँ  ।  निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी उक्त निर्णय सोमबार राती सार्वजनिक गर्नुभएको हो । उहाँहरुले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गर्नुभएको छ । जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा रु २५ हजार, दोस्रो वर्ष कम्तीमा रु ३० हजार र तेस्रो वर्ष कम्तीमा रु ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

    राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको हालको संरचना खारेज गर्ने सुझावसहितको प्रतिवेदन तयार

    काठमाडौँ।  चुरे क्षेत्र संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको हालको संरचना खारेज गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन तयार भएको छ । वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाएको छ । समिति खारेजी गर्न खोजिएको भन्दै आलोचना बढिरहेको बेलामा मन्त्रालयले भने खारेजी नभएर पुनःसंरचना गर्ने विषयमा छलफल भएको स्पष्ट पारेको छ । वन तथा वातावरण मन्त्रालयले चुरेको विषयमा प्राविधिक प्रतिवेदन तयार गर्न भन्दै बनाएको समितिले हालको समिति खारेज गर्नुपर्ने र वन तथा वातावरणमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा अन्य विज्ञहरू सदस्य रहनेगरी समितिको पुर्नगठन गर्नुपर्ने सुझाव दिएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा गठन भएको उक्त समितिमा सदस्य सचिवमा शोभाकर रेग्मीका साथै सदस्यहरूमा मन्त्रालयका सहसचिव मेघनाथ काफ्ले, डा महेश्वर ढकाल, बद्रीराज ढुङ्गाना र तत्कालीन सहसचिव डा सिन्धु ढुङ्गाना रहनुभएको छ ।

    गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

    लुम्बिनी । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

    बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै आन्तरिक हवाई उडान कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

    काठमाडौंमा सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, उल्लंघनमा १५ हजारसम्मको जरिवाना

    काठमाडौं ।काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको यस्तो कार्यमा रोक लगाएको हो ।यस्ता कार्यहरु कहीकतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

     

    एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

    सुन्तला उत्पादनमा संकट: जलवायु परिवर्तन र पानीको अभावले उत्पादनमा भारी गिरावट

    डुम्रे । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताउनुहुन्छ । 

     

    उहाँले भन्नुभयो, “दुई÷तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।” आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उहाँले उल्लेख गर्नुभयो । 

     

    “पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन”, विकले भन्नुभयो, “करिब एक सय ५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो रु कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।” यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उहाँले जानकारी दिनुभयो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij