
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २२ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
अभियान लघुवित्तले दोस्रो त्रैमाससम्म कमायो ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अभियान लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।
यसअवधिमा यस कम्पनीले ६ करोड ३१ लख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक थियो । यता, यसअवधिमा यस कम्पनीले ४६ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा छ ।
घलेम्दी हाइड्रोपावरले दोस्रो त्रैमाससम्म कमायो ३९ लाख ३६ हजार रुपैयाँ खुद नाफा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घलेम्दी हाइड्रोपावरले ३९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ४ करोड ९९ लाख रुपैयाँ नोक्सानमा थियो । यसको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
१ वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशतले बढेर ६ करोड ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष विद्युत् बिक्रीबाट यस कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।
शेयर बजार : नेप्से परिसूचकमा १४.०८ बिन्दुको गिरावट, कारोबार ८अर्ब ९१ करोड
काठमाडौँ । आज मंगलबार नेप्से परिसूचकमा १४.०८ बिन्दुको गिरावट आई २७१५.९१ बिन्दुमा अडिन पुगेको छ ।
मंगलबारको गिरावटका बेला कारोबार ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७ सय ७७ रुपैया ३६ बराबरको भएको हो ।मंगलबार १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता शेयरको कारोबार भयो ।
गरिमा विकास बैंकको २ लाख ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आजबाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
चीनले अमेरिकाबाट आयातित कोइला र ग्यासमा १० प्रतिशत भन्सार दर लगाउने
बेइजिङ ।चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १० प्रतिशत भन्सार दर लगाउने बताएको छ ।
बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।
बेइजिङका अनुसार नयाँ उपायहरु सप्ताहन्तमा वासिङ्टनले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापार साझेदारहरु विरुद्ध व्यापक उपायहरु घोषणा गरेका थिए ।
‘आइएल एन्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को सेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति
काठमाडौँ । सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
सरकारले ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार एक सय ६३ कित्ता संस्थापक शेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । “जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिनुभयो । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उहाँको भनाइ थियो ।
कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण बिथोलिने धारणा
काठमाडौँ ।नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन् ।
टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्नुपर्ने मन्त्रीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला शहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताए ।उनले भने ‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ। हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ। यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्वपूर्ण भूमिका हुन्छ,’
फेब्रुअरी १० देखि लागु हुने गरी चीनले पनि अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा
बेइजिङ । चीनले फेब्रुअरी १० देखि केही अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा गरेको छ ।राज्य परिषद्को भन्सार कर आयोगले मंगलबार अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा गरेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको हो ।
आयोगको एक विज्ञप्ति अनुसार संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यासमा थप १५ प्रतिशत कर लगाइनेछ।कच्चा तेल, कृषि मेसिनरी, ठूलो विस्थापन भएका अटोमोबाइलहरू, र पिकअप ट्रकहरूमा १० प्रतिशतको अतिरिक्त कर लगाइनेछ, विज्ञप्तिमा भनिएको छ।
पहिलो ६ महिनामा सूर्यज्योति लाइफ इन्स्योेरेन्सको नाफामा वृद्धि
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासिकमा खुद नाफा बढेको छ । कम्पनीले ३.३७ प्रतिशत वृद्धि गरी १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १५ करोढ ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।गत वर्षको पहिलो ६ महिनामा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यो वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो , प्रतितोला रु एक लाख ६४ हजार
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेकोछ ।सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ ।
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली (बजेट ३६) प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा।लि।का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रोकिएको सञ्चालक निर्वाचन प्रक्रिया खुला, बोलाइयो फागुन २५ गते साधारण सभा
काठमाडौँ । सर्वाेच्च अदालतले रिट खारेज गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) मा सञ्चालक निर्वाचन प्रक्रिया खुला भएको छ ।बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वाेच्चमा परेको रिट खारेज भएपछि नयाँ सञ्चालकहरूका लागि निर्वाचन प्रक्रिया खुला भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन २५ गते बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा बस्ने गरी बोलाएको छ । सभाले संस्थापक शेयरधनीहरूबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
भोजपुर। जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताउनुभयो । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ ।
नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं। नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत माघ ८ गतेदेखि बिक्री खुला गरेको आइपीओमा आवेदन गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ११ गते, १४ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव
काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको फागुन ११ गते गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् ।
अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij