
काठमाडौँ । नियामकको उपायले पनि बीमा पोलिसी सरेण्डर गर्ने बढ्दै गएकोमा नीति निर्माता तहमा चिन्ता बढेको छ ।नेपाल बीमा प्राधिकरणले कडाइ गरे पनि बीमा पोलिसी समर्पण गर्ने क्रममा कमी नआएको देखिएको हो । निर्धारित समय नपुग्दै बीचमै बीमा पोलिसी छाड्ने प्रवृत्ति बढ्दै गएपछि प्राधिकरणले त्यसलाई निरुत्साहित गर्न प्रिमियम भुक्तानी गरेको ३ वर्ष वा त्योभन्दा बढी समय भएको हुनुपर्ने व्यवस्था गरे पनि फरक नपरेको देखिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा बीमा ९ अर्ब १८ करोड रुपैयाँको ६३ हजार ३६१ पोलिसी सरेण्डर भएकामा गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब २९ करोड रुपैयाँको १ लाख ९ हजार ४६० बीमालेख सरेण्डर भएको तथ्यांक छ।चालु आर्थिक वर्ष ६ महिनामा मात्रै ७ अर्ब ४६ करोड रुपैयाँको ५४ हजार ४१४ पोलिसी सरेण्डर हुन पुगेको छ । सम्बद्ध क्षेत्रका विज्ञहरूका अनुसार अर्थतन्त्र शिथिल हुँदाको असर बीमा पोलिसीमा परेको छ । अर्थतन्त्र शिथिल भएका कारण बीचैमा बीमा पोलिसी छाड्ने क्रम बढेको उनीहरूको भनाइ छ ।
बीमा प्राधिकरणले पोलिसी सरेण्डर बढेपछि यस विषयमा टोली गठन गरेर अध्ययन थालेको छ। प्राधिकरणले जीवन बिमक संघका प्रतिनिधि र विज्ञसहितको प्रतिनिधित्वमा गठित समितिले अध्ययन सुरु गरेको हो।प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले प्रिमियम भुक्तानी गरेको कम्तीमा तीन वर्ष भएको हुनुपर्ने व्यवस्था गर्दा पनि सरेण्डर बढेका कारण प्राधिकरणले यसको कारण पता लगाउन अध्ययन सुरु गरेको बताए।
बीचैमा बीमा त्याग्ने क्रम बढ्नु चिन्ताको विषय भएकोले अध्ययन थालिएको उनको भनाइ छ ।कतिपय विज्ञहरूले नीति निर्माताहरूले अझ बीमा व्यवसायमा अझ लचकता अपनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । सेवाप्रदायक र सेवाग्राहीलाई कसेर बीमा व्यवसाय फस्टाउन नसक्ने उनलीहरूको भनाइ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij