
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
'नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन दर घटायो'
काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षामा असल कर्जाको प्रोभिजन दरलाई १.१ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारिएको जनाएको छ।
यसअघि, असल कर्जामा १.१ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।
यस परिवर्तनले बैंकहरूको प्रोभिजन रकम घट्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। यसअघि, असल कर्जामा १.१ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।
नन् डेलिभरेवल फरवार्डमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बैंकहरूलाई नन् डेलिभरेबल फरवार्ड मा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ। यसअघि, प्राथमिक पुँजीको लगानी सीमा १५ प्रतिशत थियो।
यस निर्णयले वित्तीय क्षेत्रको दायरा बढाउँदै, बैंकहरूको विदेशी विनिमय कारोबारको क्षमता सुदृढ गर्ने उद्देश्य राख्दछ। एक प्रकारको मुद्रा डेरिवेटिभ हो जसले विदेशी मुद्रा जोखिम न्यूनीकरणमा बैंकलाई महत्वपूर्ण भूमिका खेल्न मद्दत पुर्याउँछ। यसले विदेशी मुद्रा बजारमा ब्याज दरहरूको उतार(चढावलाई समायोजन गर्दै, विदेशी मुद्रा आपूर्तिको कुशल व्यवस्थापनमा पनि योगदान पुर्याउनेछ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः लघुवित्तको कर्जाको व्याज दर बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको व्याज दर परिवर्तन हुने भएको छ । हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत व्याज दर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी व्याजदर तय गर्न सक्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जा लिने व्याज दर परिवर्तन गरेको हो । नयाँ कर्जाको व्याज दर २०८२ को जेठ देखि लागू हुनेछ ।त्यसैगरी व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ भने असल कर्जाको विद्यमान १।१ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गरिएको छ यसले गर्दा कर्जा नोक्सानी व्यवस्थाबापत् जम्मा गर्नुपर्ने रकममा कमी आउनेछ जसले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको नाफा केही मात्रामा बढ्नेछ ।
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा माग भन्दा ९.५५ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । आज साँझसम्ममा १३ लाख ५३ हजार ४२६ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब ७६ करोड २९ लाख ३० हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ९।५५ गुणा बढी हो ।
कम्पनीले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो ।
दोर्दी खोला जलविद्युतको हकप्रद सेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन भएको छ । यस कम्पनीको मंगबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात दोर्दीको बजार मूल्य ३४९.५० रुपैयाँ कायम भएको छ ।
कालिञ्चोक दर्शनले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
शेयर बजार : नेप्से परिसूचकमा ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा, ९ अर्ब ९० करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा आएको छ । आज ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।२ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ । समग्रमा सेयर बजारमा पोजिेटिभ सेन्टिमेन्ट देखिएको छ ।
यस दिन ३ सय १२ कम्पनीको १ करोड ७८ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एचआइडीसीएल परेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ९.२५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
फागुन १२ गते अपरान्ह बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । आज मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ललितपुरको इमाडोलमा आगलागी
पाटन । ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो ।
“प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ”, उहाँले भन्नुभयो ।
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नुभयो ।
लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन । नेपालको हवाई क्षेत्रमा देखिएको समस्या मसाधान गर्ने र अन्तरराष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।
संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक हो : सांसद शर्मा
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेखा शर्माले लोकतन्त्र एवं संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले सरकारले संसद्मा बलमिचाइ गरेको आरोप लगाउनुभयो । सांसदहरुले गल्ती गर्नेप्रति खबरदारीगर्दा संसद् र बाहिर उनीहरुलाई होच्याउने र खिसीटिउरी गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो ।
महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष
काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ ।
महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भन्नुभयो, “नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।”
सोमबारको मन्त्रिपरिषद् बैठकबाट बीस अर्ब बराबरको सहुलियत ऋण स्वीकार गर्ने लगायतका १५ निर्णय सार्वजनिक
काठमाडौंँ । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस
काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उहाँले बताउनुभयो ।
नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ भव्यताका साथ आयोजना हुँदै ।
काठमाडौ । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५को आयोजना हुने भएको हो ।
अठारौँ महाशिवरात्री विश्व संगीत महोत्सव २०२५का संयोजक ईश्वर गुरुङ (नमस्ते ब्याण्ड)का संयोजकका अनुसार कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता हुने बताए । राजधानीको दरबारमार्ग आयोजित पत्रकार सम्मेलनमा गुरुङले काठमाडौँ पोखरा र अन्य स्थानहरूमा समेत ऐतिहासिक सांगितिक कार्यक्रम हुने जानकारी गराए ।
कर वृद्धि तोकिएकै समयमा : राष्ट्रपति ट्रम्प
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उहाँ र म्याक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो ।
पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्नुभएको थियो ।
वनस्पति , पशुजन्य तथा तत्सम्बन्धित वस्तुहरूको आयातका लागि अग्रिम अनुमति आवश्यक हुन प्रावधान लागु
काठमाडौँ । उद्योगी व्यवसायीहरूलाई वनस्पति, पशुजन्य तथा तीसँग सम्बन्धित वस्तुहरूको आयात गर्न अग्रिम लिनुपर्ने व्यवस्था गरिएको छ ।सरकारले यस्ता २ हजारभन्दा बढी वस्तुको आयात गर्दा अग्रिम अनुमति लिनुपर्ने एक सूची तयार गरी उक्त व्यवस्था गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अग्रिम अनुमति लिनुपर्ने भन्दै २ हजारभन्दा बढी वस्तुको सूची जारी गरेको हो।
आज सुनको मूल्य प्रतितोला १ लाख ७१ ह्जार ३ सय, मंगलबार सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो ।
जसअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो
पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
काठमाडौँ ।यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij