Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

रौतहटका अनुमति बिना सञ्चालनमा रहेका १० अस्पताल बन्द, एक सञ्चालक पक्राउ

रौतहटका अनुमति बिना सञ्चालनमा रहेका १० अस्पताल बन्द, एक सञ्चालक पक्राउ

  • चन्द्रपुर (रौतहट)। रौतहटमा अनुमति नलिइ सञ्चालनमा रहेका  १० निजी अस्पताल बन्द भएका छन्। मधेश सरकारको अनुगमनमा दर्ता नै नलिइ सञ्चालन गरिएको पाइएपछि ती  अस्पताल बन्द गरिएका हुन्।

    चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ पनि  गरेको छ। गत शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

    मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो। उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

    मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगाहपुरका ११ वटा निजी अस्पतालको अनुगमन गरेका थिए । ती मध्ये  १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो। चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जनाए ।

    मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुर सिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र अहिले बन्द रहेको डिएसपी राईले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij