
काठमाडौँ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले निक्षेप संकलनसम्बन्धी प्रावधानमा संशोधन गरी निष्क्रिय कर्जाका कारण बाधितहरूका लागि अवसर खुला गरेको छ ।यसअघि अत्यधिक निष्क्रिय कर्जाका कारण सहभागिता जनाउन नपाउने अवस्थामा लचकता ल्याउँदै निक्षेप संकलनको प्रावधानमा खुकुलो पारिएको हो ।सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप बोलकबोलमा सहभागी हुन पाउनेको न्यूनतम मापदण्ड परिमार्जन गरी यस्तो लचकता दर्शाएको छ ।
यसअघि राष्ट्र बैंकको निक्षेप बोलकबोलमा सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो । अहिले यसलाई परिमार्जन गरेर ८ प्रतिशतको सीमामा लगिएको छ । यो व्यवस्थाबाट हाल चार बैंक लाभान्वित हुने देखिएको छ ।
पुस मसान्तको त्रैमासिक विवरण अनुसार कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात ६.९६ प्रतिशत छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत निष्क्रिय कर्जा रहेको सम्बन्धित बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा जनाइएको छ । पुरानो व्यवस्था कायम रहेको भए यी बैंकहरु निक्षेप बोलबकोलमा सहभागी हुन पाउने अवस्था हुने थिएन ।
नयाँ प्रावधानमा ग्रस एनपीएलको सीमा बढाएपछि नेट एनपीएलको प्रावधान भने थप गरिएको छ । यस अनुसार यस्तो प्रतिस्पर्धामा सहभागिता जनाउन खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतको सीमामा हुनुपर्ने व्यवस्था गरिएको छ । यी बैंकहरुले खुद निष्क्रिय कर्जाको विवरण भने सार्वजनिक गरेका छैनन् । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेल समग्र वित्तीय क्षेत्रमा निष्क्रिय कर्जा केही बढेकाले ५ प्रतिशतको सीमालाई केही बढाइएको जानकारी सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यो मात्रै पनि मापदण्ड छैन् । एनीएल बाहेक पुँजीकोष अनुपात, तरलता अनुपात, अन्य कारबाहीका परे नपरेको जस्ता विभिन्न सूचक निक्षेप सुरक्षा सम्बन्धका मापदण्ड रहेका छन् ।
बैंकहरुको विवरण अनुसार पुस मसान्तमा थप ११ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा माथि रहेको छ । तीनवटा बैंकको ३ प्रतिशतको रेञ्जमा रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशत र एभरेष्ट बैंकको ०.६६ प्रतिशत बराबरको कुल निष्क्रिय कर्जा अनुपात रहेको देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij