
काठमाडौँ । सीएनआई सेकेण्ड उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको आयोजना हुन लागेको छ ।नेपाल उद्योग परिसंघ (सीएनआई) ले एक पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जनाकारी दिएको हो ।
निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि सीएनआईले अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजस्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिँदै आएको छ । साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको परिसंघले यसै सन्दर्भमा दोस्रो अन्तर्राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन (उमन लिडरशिप समिट) २०२५को आयोजना चैत्र ३ गते काठमाडौंँमा गर्न लागेको जनाएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पत्रकार सम्मेलनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जनाए । सम्मेलन आयोजनाको लागि सीएनआई उमन लिडरशिप फोरमले संयोजन गरेको जनाउँदै अध्यक्ष अग्रवालले सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको बताए ।
सम्मेलनमा प्रविधि एवं नवप्रवर्तन(टेक्नोलजि एन्ड इनोभेसन) दिगो कृषिमा महिला (उमन इन सस्टेनेवल एग्रीकल्चर) महिलाहरूमा लगानी( इन्भेस्टिङ इन उमन) र सीमा पार (बियोण्ड बाउन्ड्रिज) विषयक सत्रहरूको आयोजना गरिएको र त्यस सत्रमा विषयत छलफल हुने जनाइएको छ ।
महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउनेछ र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने विश्वास लिइएको छ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ । जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा नबिल बैंकका उप महाप्रबन्धक आदर्श बजगाइँले पहिलो सम्मेलनको उपलब्धि राम्रो देखेर नै नबिल बैंकले दोस्रो सम्मेलनका लागि टाइटल स्पोन्सर गरेको बताए ।
सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन रहेको जनाइएको छ ।
साथै छायाँ शर्माको संयोजकत्वमा दोस्रो उमन लिडरशिप समिटि भइरहेको जनाइएको छ । कार्यक्रममा बेलायत, जापान, यूएई र भारतलगायतका देशहरूबाट प्रतिनिधि तथा सफल व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij