
पाटन । ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गर्नुभयो । “उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन्, दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ, एकअर्काको आवश्यकता र समझदारीअनुसार नागरिकस्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरूको असल अभ्यास हामी लिन्छौँ, हाम्रो असल अभ्यास उहाँहरूले लिनुहुनेछ”, उहाँले भन्नुभयो ।
प्रमुख महर्जनले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउनुभयो । उहाँले उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको उल्लेख गर्नुभयो । उहाँले दुई देशका सहरबीचको आपसीसम्बन्ध र भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने जानकारी दिनुभयो ।
बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै प्रमुख महर्जनले बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिनुभयो । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताउनुभयो ।
उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनीसम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्थित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण, ग्यालरी र म्युजियम स्थापनाका, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।
ललितपुर महानगर प्रमुखसँगै प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्छ । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिबार रसिया गएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij