Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइको व्यवस्था गरिने

हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइको व्यवस्था गरिने

  • काठमाडौँ । सरकरले हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइको व्यवस्था गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताएका हुन् ।

     मन्त्री  पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको विश्वास व्यक्त गदै यस्तो बताए ।उनका अनुसार  मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाइएको छ । अब हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिनेछ।स्वास्थ्य बीमा केन्द्र मात्र नभएर स्थानीय सरकारको समेत भएको उनले जनाए ।

    उनका अनुसार स्वास्थ्य बीमा तीनवटै सरकारको हो । नागरिकको स्वास्थ्य उपचारका लागि तीनवटै सरकारले खर्च गर्ने रकम बीमा कोष बलियो बनाउन आवश्यक छ। तीनवटै सरकार मिल्ने हो भने यो सम्भव छ।मन्त्री पौडेलले हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च भए अहिले देखिएको आर्थिक अभाव हट्ने विश्वास व्यक्त गरे ।  हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले यस वर्ष पटक–पटक यसमा थप गरिएको र आगामी बजेटमा यसलाई १० अर्ब पु¥याइने उनले जनाए ।

     नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिए अहिलेको स्वास्थ्य बीमा कोष बलियो बन्ने मन्त्री पौडेलले  बताए।

    नागरिकलाई थप भार नपर्ने गरी कर रकम सिधै कोषमा लैजाने व्यवस्थाका लागि  पहल भइरहेको छ । यसलाई स्वास्थ्य मन्त्रालय मात्र नभई राज्यको कार्यक्रम ठानेर सुधार ल्याउने प्रयास गरिएको छ । यो  कोष बलियो बने स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्ने विश्वास छ  ।

    यस्ता धेरै स्रोतहरू बीमा कोषमा ल्याउन सकिने बताउँदै मन्त्री पौडेलले  राज्यको वेतन खाने कर्मचारीका स्वास्थ्य बीमा कार्यक्रम स्वास्य बीमा कोषबाटै हुने व्यवस्था गरेर तलबको १ प्रतिशत नागरिक र बाँकी १ प्रतिशत राज्यले दिने व्यवस्था गर्ने योजना सार्वजनिक गरे।मन्त्री पौडेलले स्वास्थ्य बीमा कोष अहिलेभन्दा बलियो बनाउन सकिने भन्दै स्वास्थ्यको समाजवाद यसबाट लागू गर्न सकिने विश्वास व्यक्त गरे।

    डा. शम्भु आचार्य नेतृत्वको कार्यदलले मन्त्री पौडेललाई गत पुस १६ गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। समितिमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँगै स्वास्थ्य तथा अर्थ मन्त्रालयका अधिकारी सदस्य थिए।

    समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजना समेत प्रस्तुत गरिएको थियो। मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij