
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महिला उद्यमशीलताको सहुलियत प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल सरकारले पनि राजनीतिक, आर्थिक रुपमा महिलाहरुको सहभागिता बढाउन, महिला सशक्तिकरणका लागि कानुनी एवं नीतिगत रुपमा प्रोत्साहन नै गरेको देखिएको बताउँदै अध्यक्ष अग्रवालले सेकेण्ड उमन लिडरसिप समिटिको उद्घाटन सत्रमा यस्तो बताएका हुन् । उनले भने ‘ सरकारले आयकरमा महिलाहरुलाई १० प्रतिशत छुट दिएको छ । सम्पत्तिमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक रुपमा समेत बलियो बनाउन जग्गा पास गर्दा २५ प्रतिशतसम्म छुट दिइएको छ । यसैगरी महिला उद्यमशीलता कर्जाको व्यवस्था गरिएको छ । यद्यपि यो व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याइएको छ ।’
महिला उद्यमशीलता कर्जा नपाएको गुनासो उद्यमी महिलाहरुबाट आएको बताउँदै उनले भने ‘राज्यले महिलाहरुलाई प्रोत्साहन गर्दै नगरेको होइन, गरिरहेको छ । थप प्रोत्साहन गर्नुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ । ’ उनका अनुसार सार्वजनिक निकायमा महिलाहरुको सहभागिता बढाउनुपर्ने परिसंघलाई लागेको छ । महिलाले नेतृत्व गरेको संस्थामा सुशासन हुन्छ भन्ने मान्यता विश्वव्यापी रुपमा नै रहेको पाइन्छ । त्यसैले नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्वपूर्ण छ, महिलाहरुको भूमिका थप बढाउनुपर्ने आवश्यकता पनि छ । नेपालमा महिला उद्यमशीलताको विकास सकरात्मक रुपमा बढिरहेको पाउन सकिन्छ । नेपालका महिला उद्यमीहरूले कृषि, पर्यटन, सूचना प्रविधि, हस्त–कलालगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेका छन् । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गईरहेको छ । महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता हो । देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन भन्ने मान्यतालाई अगाडि बढाउन आवश्यक छ । यसका लागि नेपाल उद्योग परिसंघ नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउन चाहन्छु । राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता न्यूनतम सीमा हो, अधिकतम होइन । त्यसैले राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्वलाई बढाउन आवश्यक छ । महिलाको आवाज र कथाहरू समान रूपमा प्रतिनिधित्व हुने र कार्यान्वयनमा आउन सक्ने गरी नीति निर्माणमा महिलाहरूको सहभागिता बढाउन आवश्यक छ । महिलाको आत्मनिर्भरता उनीहरूको वित्तीय पहुँचसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गर्न ऋण पहुँचको सीमा वृद्धि गर्न आवश्यक छ । लघु, घरेलु, साना र मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न महिला लक्षित ऋण संरचनामा सुधार गर्न आवश्यक छ । महिलाहरू समान रूपमा शक्ति र स्रोतको पहुँचबाट वञ्चित छन् भन्ने बुझ्नुपर्छ । पुरुषहरूले महिलाहरूलाई नेतृत्वको स्थान दिन, आफ्नो शक्ति र स्थान साझा गर्न, र आवश्यक परेमा त्यस्ता स्थानहरू छोडेर महिलाहरूलाई सुरक्षित र आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्नुपर्छ । लैंगिक समानता भनेको पुरुष र महिलाको अनुपात मिलाउने विषय मात्र नभई सुरक्षित वातावरण सिर्जना गर्नु, नेतृत्व तहमा जान सहज बनाउनु पनि हो ।
महिलाहरू विश्व अर्थतन्त्रमा एक ठूलो, तर पूर्ण रुपमा प्रयोग गर्न नसकिएका स्रोत हुन् । लैङ्गिक असमानता हटाउँदै शिक्षा, रोजगार, उद्यमशीलता, र नेतृत्वका अवसरहरू बढाउन सकिए समाजले महिलाको पूर्ण आर्थिक सम्भावनालाई उपयोग गर्न सक्छ । महिला सशक्तिकरणमा लगानी गर्दा यसको प्रत्यक्ष प्रभाव पारिवारिक आम्दानी, सामुदायिक समृद्धिसँगै अर्थतन्त्रको विकाससँग समेत पर्दछ । लैङ्गिक समानता सुनिश्चित गर्नु मात्र नैतिक आवश्यकता होइन, यो असाधारण आर्थिक प्रगति र दिगो विकासतर्फको रणनीतिक मार्ग पनि हो भन्ने मान्यताका साथ इन्भेस्टिङ इन उमन शीर्षकमा सत्र संचालन भइरहेको अध्यक्ष अग्रवालले बताए ।
अध्यक्ष अग्रवालका अनुसार प्यानल छलफलले व्यापारिक परिदृश्यमा परिवर्तनकारी रणनीति अन्वेषण गर्ने हाम्रो विश्वास छ । लैङ्गिक पारिश्रमिक असमानतालाई हटाउने, महिलाको उद्यमशीलता प्रवद्र्धन गर्ने, र वित्तीय स्रोत तथा अवसरहरूमा महिलाको पहुँच बढाउने उपायहरूबारे यस सत्रमा बहस हुनेछ भन्ने विश्वास अग्रवालले व्यक्त गरे । यसैगरी उमन इन सस्टनेबल एग्रिकल्चर विषयमा हुने सत्रमा सफल परियोजनाहरूका उदाहरणहरू प्रस्तुत गरिनेछ, जसले प्राविधिक, आर्थिक, सामाजिक, तथा नीतिगत अवरोधहरू कसरी पार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले जनाए ।
अध्यक्ष अग्रवालका अनुसार महिला उद्यमीहरूका लागि प्रविधि एउटा शक्तिशाली उपकरण हो, जसले परम्परागत अवरोधहरू पार गर्दै दिगो व्यवसाय अभ्यासलाई सक्षम बनाउन सहयोग गर्छ । महिला उद्यमीहरूले उद्योगहरू रूपान्तरण गरिरहेका छन् र दिगोपनतर्फको परिवर्तनलाई नेतृत्व गरिरहेका छन् । प्रविधिले महिलाहरूलाई आफ्नो व्यवसायलाई विश्वव्यापी बजारसम्म विस्तार गर्न मद्दत गर्छ, जसले परम्परागत व्यापार मोडेलमा प्रायः नजरअन्दाज गरिएका समुदायहरूलाई पनि लाभान्वित गर्छ । आर्थिक सशक्तिकरणमा प्रविधिको भूमिका विषयमा टेक्नोलोजी एन्ड इनोभोशन छलफल हुने छ ।
यस्तै बियोन्ड बाउन्ड्रिज शीर्षकमा महिलाहरूका सफलतामा चर्चा हुनेछ । विभिन्न क्षेत्रका महिलाहरूका प्रेरणादायी कथाहरू, जसले सफलता पुनः परिभाषित गरेका छन् । व्यावसायिक वृद्धिको सन्तुलन र व्यक्तिगत जीवन व्यवस्थापन सम्बन्धी अनुभवहरू साटिनेछन् । आजको सम्मेलनले नीति निर्माता, विज्ञ, नेतृत्व सबैलाई एकै ठाउँमा राखेर महिला सशक्तिकरणका लागि, देशका लागि, अर्थतन्त्रका लागि गहन रुपमा छलफल गरिने बताउँदै अध्यक्ष अग्रवालले भने ‘ यसले नेपाल सरकारलाई नीतिगत रुपमा स्पष्ट सुझाव दिने मात्रै नभई भए गरेका सकारात्मक प्रयासलाई समेत हेर्ने छौं, सुन्ने छौं, बुझ्ने छौं । ’
अध्यक्ष अग्रवालले परिसंघ सचिवालयमा ५० प्रतिशत भन्दा बढी महिला कर्मचारीहरु नै क्रियाशील रहेको बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij