काठमाडौँ । विश्वका विभिन्न देशका गरी साढे तीन सय बढीलाई ‘सगरमाथा संवाद’ मा निमन्त्रणा गरिने भएको छ । आगामी जेठको पहिलो साता तीन दिन कार्यक्रम सगरमाथा संवाद साढे तीन सय बढी विदेशीलाई निमन्त्रणा गरिने आइतबार आइतबार सरकारले जनाएको हो ।
आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्न लागिएको हो । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निम्तो पठाइने जनाए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा ती मध्ये डेढ सय पौने दुईसय सम्मको सहभागिता हुने विश्वास गरिएको जनाइएको छ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए । जलवायु परिर्वतनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाउन यो संवादको विशेष महत्व रहने विश्वास गरिएको छ ।
यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको उनले जानकारी दिए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने पनि मुख्यसचिव अर्यालले बताए ।
उनका अनुसार सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ ।
सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी गराइएको छ । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij