Logo

Mar 17 2025 | २०८१, चैत ४गते

Mar 17 2025 | २०८१, चैत ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ४ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ४ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ४ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सन नेपाल लाइफ इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्ने , धितोपत्र बोर्डबाट पायो अनुमति

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

    हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ ।सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    पियोर इनर्जी लिमिटेडको आइपीओमा माग भन्दा ८.६८ गुणा बढी आवेदन

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ५० लाख ५१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ५४ हजार ९८३ जनाले १२ लाख ५० हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.६८ गुणा बढी आवेदन हो । 

     

    कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा, ५ अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा आएको छ ।आज  ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    यस दिन ३ सय ३१ कम्पनीको ९९ लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र महालक्ष्मी विकास बैंक परेका छन् । 

    नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय चैत १४ गतेसम्मका लागि थप

    काठमाडौ। नेको इन्स्योरेन्सले हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।

     


    यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको हो । 


    नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो ।

    ङादी ग्रुप पावरको बोलपत्र आज खोलिँदै, ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्रीको परिणाम सार्वजनिक

    काठमाडौं ।  ङादी ग्रुप पावरले आज (चैत ४ गते) आफ्नो बोलपत्र खोल्न लागेको छ। कम्पनीले फागुन २० देखि २८ गतेसम्म सर्वसाधारण समूहको लागि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्रीको प्रक्रिया शुरु गरेको थियो। यसअघि प्राप्त भएका बोलपत्र आवेदनहरू आज बिहान ७ बजे, सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंमा खोलिने छन्।

    नेपाल सरकारको ट्रेजरी बिल बोलकबोल : १८ अर्ब ३० करोडको नयाँ उधारी योजना

    काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज, सोमबार, चैत ४ गते, कुल १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने घोषणा गरेको छ। यस समयको ट्रेजरी बिल बोलकबोल नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिकाअनुसार हुनेछ। पछिल्लो समयमा बैंकहरूमा प्रशस्त तरलता रहेको कारण, ट्रेजरी बिलमा आवेदनको संख्या अत्यधिक बढेको छ, जसले गर्दा डिस्काउन्ट रेटमा गिरावट आएको छ।

    सकियो २६औँ पुष्प मेला, एक करोड बढीको कारोबार

    काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ । 

     

     

    चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७०  हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिनुभयो ।

     

    हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ । जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब रु आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ ।

    प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

    काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ ।

     

     

    आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । 

     

    सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापाको नियुक्ति

    काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)को रूपमा दीपक थापालाई नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी दीपक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

    यस निर्णयअनुसार, वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो ३० वर्षे सेवाका कारण आज राति अवकाश लिनेछन्, र यसपछि दीपक थापा नेपाल प्रहरीका ३१ औं आईजीपीका रूपमा कार्यभार सम्हाल्नेछन्।

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच आज भेटवार्ता भएको छ । 

     

     

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताउनुुभयो । युएनडिपीले दिगो विकास, फोहरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशमा महत्त्वपूर्ण सहयोग गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै स्वास्थ्य मन्त्रालय

    चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको १० वर्षे रणनीति बनाउन थालेको छ । मन्त्रालयले प्रदेशस्तरमा छलफल गरेर आर्थिक वर्ष २०८१/९१ रणनीति बनाउन लागेको हो । 

     

    मन्त्रालयले आज भरतपुरमा चार प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका सरोकारवाला र विज्ञहरुसँग छलफल गर्दै उक्त जानकारी दिएको हो । वागमती, गण्डकी, मधेश र कोशी प्रदेशका सहभागीले गोष्ठीमा तथ्यका आधारमा रणनीति बनाउन सुझाव दिएका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले ऐन बनाउन समयमा नै प्रभावित पार्ने गरेको उल्लेख गर्दै राजनीतिकर्मी र कर्मचारी कोही पनि प्रभावित नबनी ऐन, कानुन बनाउनुपर्ने बताउनुभयो । 

    नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने कच्चापदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपालबाट जडीबुटी भारत निकासी हुन्छ, त्यहाँ ग्रेडिङ भएर कमसल खालको जडीबुटी फेरी नेपाल आयात गरिन्छ ।” यस्तो समस्यालाई चिर्ने गरी रणनीति बनाउन उहाँले सुझाव दिनुभयो ।

    १७औँ धर्मश्री प्रथम पीएल सिंह मेन्स स्पोर्ट्सको आयोजना हुँदै

    काठमाडौँ । नेपाल व्यायाम मन्दिरले १७औँ धर्मश्री , प्रथम पीएल सिंह मेन्स स्पोर्टस फिजिक्सको आयोजना गर्न लागेको छ ।   प्रथम वोमेन्सं वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता  २०८१को वारेमा जानकारी गराउन आयोजित  पत्रकार सम्मेलनमा नेपाल व्यायाम मन्दिरले यस्तो जानकारी गराएको हो ।

    नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक गर्न आग्रह

    काठमाडौं ।  देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र  उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।   

     

    आम नागरिकलाई कसरी कोषमा आवद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै जाने छ भन्ने उहाँले अपेक्षा गर्नुभयो । 

     

     

    कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुभयो ।

    पूर्व विशिष्टलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी : गृहमन्त्री रमेश लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी दिँदै भने, सरकारले पूर्व विशिष्ट व्यक्तिहरुलाई जीवनभर सेवा सुविधा दिनका लागि नयाँ कानुन बनाउने प्रक्रिया सुरु गरेको छ। उनले राज्यकोषमा अनावश्यक भार नपर्ने गरी कानुनी तयारी अगाडि बढाइएको स्पष्ट पारे।

    पुनर्बीमा कम्पनीहरूको लगानी पाँच वर्षमा डेढसय प्रतिशतले वृद्धि

    काठमाडौँ ।  पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमक कम्पनीहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच वर्षमा  विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिएको हो ।प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरूले आव २०७६/७७ मा १५ अर्ब ४२ करोड ४० लाख लगानी गरेकोमा २०८०/८१ मा आइपुग्दा ३८ अर्ब ५६ करोड ४८ लाख लगानी गरेको देखिएको हो ।

     

    कम्पनीहरूले आव २०७७/७८ मा २४ अर्ब ४ करोड ३६ लाख लगानी गरेका थिए । जुन आव २०७६/७७ को तुलनामा ५५.८८ प्रतिशतले वृद्धि भएको थियो  । उक्त आवमा हिमालयन इन्स्यारेन्स कम्पनीले लगानी सुरु गरेको हुँदा लगानीमा ठूलो वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ ।

    अध्यक्ष चन्द्रप्रसाद ढकाल : ‘तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ’

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्यको महत्त्वमा जोड दिएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५८औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणमार्फत कानूनी समस्याहरू समाधान गर्दै लगानीमैत्री वातावरण तयार पारेको बताउनुभयो।

     

    ढकालले समृद्धि हासिल गर्नका लागि सहकार्यलाई प्राथमिकता दिनुपर्ने कुरा उल्लेख गर्दै रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यको आवश्यकता औंल्याउँदै उहाँले ललितपुर महानगरले निजी क्षेत्रलाई प्रोत्साहन दिने कार्य सराहनीय रहेको जनाउनुभयो।

    राष्ट्र बैंकले तोकेको सीडी रेसियो भन्दा बैंकहरूको रेसियो घट्दो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले  तोकेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) भन्दा सबै बैंकहरूको अवस्था त्यो भन्दा घटी रहेको छ । अधिकतम सीडी रेसियोको प्रतिशत  ८५.६५ र न्यूनतम ६३.८६ प्रतिशत रहेको छ । सबै वाणिज्य बैंकहरूको औसत सीडी रेसियो  ७९.२९ रहेको  नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

     

    नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक  कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने सीमा तोकेको छ ।कतिपय विज्ञहरूले सीडी रेसियोको आदर्श अवस्था ६५ देखि ७५ प्रतिशतमा हुनुपर्ने  बताउने गरेका छन्  । यो भने फरक फरक हुने गर्छ । यसमा बैंकको आकार, जोखिम बहन गर्ने अवस्था र आर्थिक वातावरणको अवस्थाले प्रभाव पार्ने गर्छ ।

    एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

    सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनु पर्ने बताउनुभएको छ । 

     

    दक्षिण कोरियाली विशाल पूविधि कम्पनी सामसुङले अमेरिकी प्रबिधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको छ किनकि प्रतिद्वन्द्वी एसके हाइनिक्स यसको ‘एआई ग्राफिक्स प्रोसेसिंग युनिट ९जीपीयू०’ को लागि उच्च ‘ब्यान्डविथ मेमोरी ९एचबीएम० चिप्स’को लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको छ।

    विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसुङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गत बर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो । यसको ‘मौलिक प्राविधिक प्रतिस्पर्धा र कम्पनीको भविष्य’ को बारेमा प्रश्नहरू उत्पन्न भएको स्वीकार गरेको छ।

    प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो ।

    बचत प्रोत्साहन गर्ने मूल नाराका साथ ग्लोबल मनी वीक २०२५ मनाइँदै

    काठमाडौँ । ग्लोबल मनी वीक २०२५ले बचतमा प्रोत्साहन गर्ने नारासहित मनाउन लागिएको छ ।‘लर्न, सेभ एण्ड अर्न’को नाराका साथ बैंक तथा वित्तीय संस्थाहरुले मनाइरहेको ग्लोबल मनी वीकको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका हुन् । 

     

    घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ, जसको क्षमता जेछ सोही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन भन्दै गभर्नर अधिकारीले  २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने बताए ।बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि सरोकारवालालाई बुझ्न भने ।

    भारतीय पर्यटकहरूले खुद्रा खर्च  सबै भन्दा बढी  पशुपति क्षेत्रमा  गर्छन्

    काठमाडौँ । भारतीय पयर्टकहरूले खुद्रा खर्च सबै भन्दा बढी पशुपति क्षेत्रमा गर्ने गरेको देखिएको छ । नेपाल आएका भारतीय पर्यटकहरूले एक वर्षमा क्यू आर कोडबाट गरेको खुद्रा खर्चको हिसाब अनुसार सबै भन्दा बढी पशुपति क्षेत्रमा भएको देखिएको हो । एक वर्षमा  उनीहरूले १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम क्यूआरमार्फत भुक्तानी गरेका छन्। फोन पे क्यूआरबाट  ५ लाख ६० हजारभन्दा बढी कारोबार भइ एक अर्ब ६० करोड रुपैयाँ बढी भुक्तानी कारोबार भएको हो ।

     

    गत वर्षबाट भारतीय पर्यटकहरुले नेपालमा क्यूआरमार्फत भुक्तानीको सेवा पाउन थालेका थिए। फोन पेका अनुसार भारतीय पर्यटकहरुले क्यूआर प्रयोग गरेर सर्वाधिक रिटेल आउटेलमा भुक्तानी गरेका छन्। त्यो  हिस्सा २७ प्रतिशत छ। यस्तै, भारतीयहरुले रेष्टुरेन्टमा १९.६८ प्रतिशत र होटल तथा रिसोर्टमा १५.४ प्रतिशत हिस्सा फोनपे क्यूआरबाट भुक्तानी गरेको पाइएको छ ।

    मेडिकेयर हस्पिटलको  साधारण सभा चैत २३ गते,  आईपीओ निष्काशन गर्ने

    काठमाडौं । मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो।

     


    कम्पनीको विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुँजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

    सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय कायम

    काठमाडौँ । आज सोमबार सुनको मूल्यमा उतारचढाव देखिएको छैन् । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय कायम भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ मूल्य तय गरेको जनाएको छ ।  यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७४ हजार ५ सय पुगेको थियो ।

    काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

    काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।

     

    रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताउनुभयो ।

    चैत ७ बाट एसइई परीक्षा सुरु,  २ हजार ७९ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७१ परीक्षार्थी

    भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा गरेको छ । 

     

     

    परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । 

     

     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij