
बैङ्कक ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र छिमेकी मुलुक बङ्गलादेशका नेताबीच शुक्रबार भेटवार्ता भएको छ ।
ढाकामा भएको विद्यार्थी आन्दोलनले लामो समयदेखि बङ्गलादेशको प्रधानमन्त्री रहनुभएकी नेतृ शेख वाजेद हसिनालाई अपदस्थ गरेपछि उहाँहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।
सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीबाट अपदस्थ गरेपछि नोबेल पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको बागडोर सम्हाल्नुभएको थियो । अपदस्त भएपछि पूर्वप्रधानमन्त्री हसिना आफ्ना केही सहयोगीसहित नयाँदिल्लीमा रहँदै आउनुभएको छ भने उहाँलाई सुपर्दगी गर्न बङ्गलादेशले भारतसँग आग्रह गर्दै आएको छ।
शुक्रबार युनुसले सामाजिक सञ्जालमा मोदीसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गर्नुभएको छ भने बैठकपछि बोल्दै उहाँका प्रेस सेक्रेटरी शफिकुल आलमले बैठक रचनात्मक, फलदायी र उपयोगी भएको बताउनुभएको छ ।
थाइल्याण्डमा भएको क्षेत्रीय शिखर सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।
युनुसले एक दशकअघि मोदीलाई आफ्नो फ्रेम गरिएको तस्बिर उपहार दिएको दुई नेताको तस्बिर पनि सेयर गनुर््भएको थियो । भारतीय नेताले सन् २०१५ मा समाजका गरिबलाई सहयोग गर्ने यस कार्यका लागि माइक्रो फाइनान्सका अग्रणीलाई स्वर्ण पदकद्वारा सम्मान गर्नुभएको थियो ।
भेटबारे नयाँदिल्लीबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
उहाँका प्रेस सेक्रेटरीका अनुसार युनुसले मोदीसँग ढाकाको लामो समयदेखिको गुनासोको विषय पनि उठाउनुभएको थियो । भेटमा उहाँले निर्वासनबाट हसिनाको भडकाउपूर्ण टिप्पणी भएको बताउनुभएको थियो ।
भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गर्नुभएको छ ।
ढाकाले हसिनालाई उहाँको सरकार ढाल्ने अशान्तिका क्रममा सयौं प्रदर्शनकारीको हत्या गरेको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगको सामना गर्न भारतलाई सुपुर्दगी गर्न अनुमति दिन अनुरोध गरेको छ ।
युनुसले भारतसँगको खुला सीमामा हुने हिंसाका साथै गङ्गा र ब्रह्मपुत्रको हावा समुद्रतर्फ जाने भएकाले भारतबाट बग्ने साझा नदीको पानीका विषयमा पनि चिन्ता व्यक्त गर्नुभएको थियो ।
सन् २०२६ को जुनमा हुने नयाँ निर्वाचनअघि युनुसको कामचलाउ सरकारलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ ।
मोदी र युनुसले बिहीबार राति बैङ्ककमा बिम्स्टेक समूहका अन्य नेतासँगै एकअर्काको छेउमा बसेर रात्रिभोज गरेका थिए तर शुक्रबार भएको द्विपक्षीय बैठक दुई देशबीचको सम्बन्ध बिग्रिएपछिको पहिलो बैठक हो ।
भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उहाँ अपदस्थ भएसँगै बङ्गलादेशको सीमापार सम्बन्धमा समस्या आएको थियो । युनुसले गत महिना चीनको पहिलो राजकीय भ्रमण गर्नुभएको छ ।
बढ्दो कूटनीतिक विवादका बीच बङ्गलादेश पनि भारतको कट्टर शत्रु पाकिस्तानसँग नजिकिएको छ ।
भारत र बङ्गलादेशबीचको तनावका कारण दुवै सरकारका वरिष्ठ व्यक्तिहरूबीच धेरै पटक ‘टिट–फर–ट्याट’ शब्दवार्तान भएको छ ।
नयाँदिल्लीले विगतमा मुस्लिम बहुल बङ्गलादेशले अल्पसङ्ख्यक हिन्दू नागरिकको पर्याप्त सुरक्षा गर्न असफल भएको आरोप लगाउँदै आएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij