
सान्तो डोमिङ्गो ।डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको
सङ्ख्या २१८ पुगेको छ ।
प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो । यसअघि बुधबार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए । स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए ।
मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उहाँले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जित्नुभएको थियो ।
पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताउनुभयो ।
राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गर्नुभएको थियो भने तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको थियो । उहाँका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि हुनुहुन्थ्यो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij